arrow

विश्वकप लिग २

रनको खाता नखोल्दै विकेटको खाता खोल्यो यूएईले

यूृएई २४९ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
nepali-cricket-spectators-tu.jpeg

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत राजधानीमा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाल विरुद्धको खेलमा यूएईले रन जोड्नुअघि नै विकेट गुमाएको छ । २४९ रनको चुनौती पछ्याइरहेको यूएईले पहिलो ओभरमै विकेट गुमाएको हो । 

पहिलो ओभरमै ललितनारायण राजवंशीले भृत्तीय अरबिन्दको विकेट लिएका हुन् । त्यसैगरी ६ रन जोड्दा यूएईले दोस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा पनि शून्यमै आउट भएका छन् । उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरे । 

त्यस्तै ८ रन बनाउँदा यूएईले ३ विकेट गुमायो । कप्तान मुहम्मद वासिम १ रन बनाएर आउट भए । उनलाई ललित राजवंशीले नै आउट गरे । 

त्यस्तै ८ रन बनाउँदा नै यूएईले चौथो विकेट गुमाएको छ । सोमपाल कामीले आसिफ खानलाई व्यक्तिगत ६ रनमा आउट गरेका छन् । 

यूएईले ११ ओभर खेल्दा ४ विकेट गुमाएर मात्र २५ रन जोडेको छ । 

१३.४ ओभरमा यूएईले ५ विकेट गुमाएर ३४ रन बनाएको छ । रोहन मुस्तफा ६ रन बनाएर आउट भएका छन् । उनलाई सन्दीप लामिछानेले आउट गरेका हुन् । 

त्यस्तै १६.१ ओभर खेल्दा यूएईले ४६ रन जोड्दै छैटौं विकेट गुमाएको छ । आयान अफ्जल खान २९ रन बनाएर आउट भएका छन् । ललित राजवंशीले तेस्रो विकेट लिएका छन् । 

१७.३ ओभरमा यूएईले ५१ रन जोड्दा सातौं विकेट गुमाएको छ । जवार फरिद २ रन बनाएर आउट भएका छन् । सन्दीपले दोस्रो विकेट लिएका छन् । 

त्यस्तै २१.१ ओभरमा ६२ रन जोड्दै यूएईले आठौं विकेट गुमाएको छ । अस्वन्थ भल्थापा १४ रन बनाएर आउट भएका छन् । उनलाई गुलशन झाले आउट गरे । 

त्यस्तै २२.२ ओभरमा ७१ रन जोड्दै यूएईले नवौं विकेट गुमायो । जुनैद सिद्धिकी १ रन बनाएर आउट भएका छन् । उनलाई ललितले आउट गर्दै चौथो विकेट लिए । 

त्यस्तै २२.५ ओभरमा यूएईले ७१ रनमात्र जोडेर दशौं विकेट गुमायो । जहुर खानले खाता खोल्न पाएनन् । ललितले व्यक्तिगत पाँचौं विकेट लिए । 

समग्रमा ललितले ५, सन्दीपले २ तथा सोमपाल, दिपेन्द्र र गुलसनले १–१ विकेट लिए । 

यसअघि त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनायो । कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरे । उनले कप्तानी इनिङ्स खेल्ने क्रममा ११२ बलमा ७७ रन बनाए । 

२२ रन जोड्दा शुरुआती ३ विकेट गुमाएको नेपालका लागि रोहितले कप्तानी इनिङ्स खेलेका हुन् । उनले नेपालका लागि ४२ एक दिवसीय अन्तर्राष्ट्रियमा आठौं अर्धशतक बनाएका हुन् । 

रोहितको नाममा एउटा शतकसमेत रहेको छ ।  

त्यसैगरी नेपालका लागि आरिफ शेखले ४३, गुलशन झाले ३२ बलमा ३७ तथा दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । भीम सार्कीले २९ रन बनाए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् । 

यूएईका चार खेलाडीले २–२ तथा दुई खेलाडीले १–१ विकेट लिए । 

आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिरिँदा स्पिनर ललितनारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश भएका छन् ।

नेपालले एक दिवसीय मान्यतालाई कायम राख्न आजको खेल जिते पुग्नेछ । यो खेल हारे यूएईको एक दिवसीय मान्यता सन्कटोन्मुख हुनेछ । 

नेपालले यूएईलाई पछिल्लो भिडन्तमा ४२ रनले हराएको थियो । तर त्यसअघिको खेलमा ६८ रनले पराजित भएको थियो । त्यसअघिका दुई खेल भने नेपालले नै जितेको थियो । 

नेपाल खेल्न बाँकी तीन वटै खेल जितेर सिधै विश्वकप छनोट खेल्न चाहन्छ भने यूएई विश्वकपमा सिधै छनोटको सम्भावनाबाट बाहिरिइसकेको छ । 

यसअघिको खेलमा नेपालले त्रिकोणात्मक श्रृंखलाको अर्को राष्ट्र पपुवा न्युगिनी पीएनजीलाई हराएको थियो भने यूएई पीएनजीसँग पराजित भएको थियो । 

यसबाट पनि नेपालको मनोबल उच्च छ भने यूएई निकै दबाबमा छ । अर्कातर्फ घरेलु मैदानमा खेलिरहेको नेपाललाई १२ औं खेलाडी मानिने दर्शकको समर्थन छ भने यूएई यो मामलामा कमजोर छ । 

नेपाल निरन्तर सफलतालाई अझ अगाडि बढाउने क्रममा आजको खेल जित्नैपर्ने दबाबमासमेत छ । 

अंक तालिका
सात टोली सहभागी विश्वकप लिग २ मा जारी श्रृंखलाका खेल बाहेक सबैले खेलिसकेका छन् । एक टिमले ३६ खेल खेल्नुपर्नेमा सबै अगाडिका चार टिमले पूरा खेल खेलिसकेका छन् । पछाडिका तीन टिमको भिडन्त जारी छ । 

स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भइसकेको छ । ओमान ४४ अंकबाट दोस्रो स्थानमा छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 

३३ खेलबाट ३४ अंकको नेपाल पाँचौं स्थानमा छ । ३३ खेलबाट ३१ अंकको यूएई छैटौं स्थानमा छ । ३४ खेलबाट ११ अंकको पीएनजी पुछारमा छ । 

नेपाल बाँकी तीन खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ । यूएईले बाँकी खेल जिते पनि चौथो स्थानमै रहने छ । 

सातमध्ये शीर्ष तीनमा रहने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । शीर्ष पाँच टिमको एक दिवसीय वरियता कायम रहने छ । पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने छन् । 

अहिलेसम्म पीएनजीले एक दिवसीय मान्यता गुमाएको छ भने नेपाल र यूएईमध्ये एक टिमले उक्त मान्यता गुमाउने छन् । 

आजको खेलमा नेपाल विजयी हुनासाथ यूएईले एक दिवसीय मान्यता गुमाउने लगभग निश्चित हुनेछ । यूएईले यो खेल जिते पनि त्यसपछिका दुवै खेल जित्नुपर्ने हुन्छ । तर आजको खेलमा नेपाल पराजित भए सिधै विश्वकप छनोट खेल्ने सम्भावना सकिने छ । 

निकै महत्वपूर्ण खेलमा नेपाल र यूएई मैदानमा उत्रदै छन् ।   

बाँकी खेलहरु–
नेपाल र पीएनजी, सोमबार ।
यूएई र पीएनजी बुधबार ।
नेपाल र यूएई बिहीबार । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ