arrow

विश्वकप लिग २ 

नेपालको एक दिवसीय मान्यता सुरक्षित, विश्वकप छनोटमा सिधै छानिन दुई खेल जित टाढा 

यूएईमाथि १७७ रनको जित रोहितको कप्तानी इनिङ्स, ललितले लिए ५ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
nepal-cricket-wcl2-final.jpg

काठमाडौं । नेपालले एक दिवसीय मान्यतालाई सुरक्षित राखेको छ । राजधानीमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा दुई खेलअघि नै नेपालले एक दिवसीय मान्यता सुरक्षित गरेको हो । 

आइतबार भएको खेलमा यूएईमाथि १७७ रनको फराकिलो जित हासिल गर्दै नेपालले दुई खेलअघि नै एक दिवसीय मान्यतालाई कायमै राख्न सफल भएको हो । यो एक दिवसीयमा सर्वाधिक रनको जित हो । 

नेपालले ३४ खेलमा ३६ अंक जोड्दै अमेरिकालाई पछाडि पार्दै एक दिवसीय मान्यता सुरक्षित गरेको हो । 

लिग २ मा रहेका सात टिममध्ये शीर्ष पाँचमा रहने टिमले मात्र एक दिवसीय मान्यता कायम राख्ने भएकाले नेपाल चौथो स्थानमा उक्लदै एक दिवसीय मान्यता सुरक्षित गरेको हो । अब नेपालले दुई खेलमात्र खेल्न बाँकी छ । यी दुवै खेल जिते नेपाल विश्वकप छनोटमा सिधै छानिने छ । 

शीर्ष तीनमा रहने टिमले विश्वकप छनोटमा सिधै छानिन पाउँछन् । 

अहिलेसम्म स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भइसकेको छ । ओमान ४४ अंकबाट दोस्रो स्थानमा छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको नेपालको ३४ खेलबाट ३६ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ । 

३४ खेलबाट ३१ अंकको यूएई छैटौं स्थानमा छ । ३४ खेलबाट ११ अंकको पपुवा न्युगिनी (पीएनजी) पुछारमा छ । 

नेपाल बाँकी दुई खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ । यूएईले भने एक दिवसीय मान्यता जोगाउने सम्भावना कम भएको छ । 

सातमध्ये शीर्ष तीनमा रहने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । शीर्ष पाँच टिमको एक दिवसीय वरियता कायम रहने छ । पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने छन् । 

अहिलेसम्म पीएनजीले एक दिवसीय मान्यता गुमाएको छ भने अमेरिका र यूएईमध्ये एक टिमले उक्त मान्यता गुमाउने छन् । 

आइतबारको खेल
त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनायो । कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरे । उनले कप्तानी इनिङ्स खेल्ने क्रममा ११२ बलमा ७७ रन बनाए । 

२२ रन जोड्दा शुरुआती ३ विकेट गुमाएको नेपालका लागि रोहितले कप्तानी इनिङ्स खेलेका हुन् । उनले नेपालका लागि ४२ एक दिवसीय अन्तर्राष्ट्रियमा आठौं अर्धशतक बनाएका हुन् । रोहितको नाममा एउटा शतकसमेत रहेको छ ।  

त्यसैगरी नेपालका लागि आरिफ शेखले ४३, गुलशन झाले ३२ बलमा ३७ तथा दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । भीम सार्कीले २९ रन बनाए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् । 

यूएईका चार खेलाडीले २–२ तथा दुई खेलाडीले १–१ विकेट लिए । आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिरिँदा स्पिनर ललितनारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश भए ।

जवाफमा मैदानमा उत्रिएको यूएईले कमजोर प्रदर्शन गर्यो । यूएईले सबै विकेट गुमाएर २२.५ ओभरमा ७१ रनमात्र जोड्यो । 

पहिलो ओभरमै ललितनारायण राजवंशीले भृत्तीय अरबिन्दको विकेट लिए । त्यसैगरी ६ रन जोड्दा यूएईले दोस्रो विकेट गुमायो । आर्यन लाक्रा पनि शून्यमै आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरे । 

त्यस्तै ८ रन बनाउँदा यूएईले ३ विकेट गुमायो । कप्तान मुहम्मद वासिम १ रन बनाएर आउट भए । उनलाई ललित राजवंशीले नै आउट गरे । 

त्यस्तै ८ रन बनाउँदा नै यूएईले चौथो विकेट गुमायो । सोमपाल कामीले आसिफ खानलाई व्यक्तिगत ६ रनमा आउट गरे ।

१३.४ ओभरमा यूएईले ५ विकेट गुमाएर ३४ रन बनायो । रोहन मुस्तफा ६ रन बनाएर आउट भए । उनलाई सन्दीप लामिछानेले आउट गरे ।  

त्यस्तै १६.१ ओभर खेल्दा यूएईले ४६ रन जोड्दै छैटौं विकेट गुमायो । आयान अफ्जल खान २९ रन बनाएर आउट भए । ललित राजवंशीले तेस्रो विकेट लिए ।

१७.३ ओभरमा यूएईले ५१ रन जोड्दा सातौं विकेट गुमायो । जवार फरिद २ रन बनाएर आउट भए । सन्दीपले दोस्रो विकेट लिए । 

त्यस्तै २१.१ ओभरमा ६२ रन जोड्दै यूएईले आठौं विकेट गुमाएको छ । अस्वन्थ भल्थापा १४ रन बनाएर आउट भएका छन् । उनलाई गुलशन झाले आउट गरे । 

त्यस्तै २२.२ ओभरमा ७१ रन जोड्दै यूएईले नवौं विकेट गुमायो । जुनैद सिद्धिकी १ रन बनाएर आउट भएका छन् । उनलाई ललितले आउट गर्दै चौथो विकेट लिए । 

त्यस्तै २२.५ ओभरमा यूएईले ७१ रनमात्र जोडेर दशौं विकेट गुमयो । जहुर खानले खाता खोल्न पाएनन् । ललितले व्यक्तिगत पाँचौं विकेट लिए । समग्रमा ललितले ५, सन्दीपले २ तथा सोमपाल, दिपेन्द्र र गुलसनले १–१ विकेट लिए । 

बाँकी खेलहरु–
नेपाल र पीएनजी, सोमबार ।
यूएई र पीएनजी बुधबार ।
नेपाल र यूएई बिहीबार । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ