arrow

उपराष्ट्रपति निर्वाचन 

चार जनाकै उम्मेदवारी कायम, जसपाले फिर्ता नगर्नुभित्र यस्तो रणनीति

प्रमुख निर्वाचन आयुक्तले कसको बोली बोकेर चुके ? महिला नै चाहिने भनेर पुरुषलाई पनि उम्मेदवारी छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
candidate-vice-president-2079.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको हो । 

अचम्म त के भने जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम भएको छ । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव तथा एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकामा सबैको उम्मेदवारी कायम भएको छ । 

जसपा र जनमत पार्टी सत्ता समर्थित १० दलीय गठबन्धनमा आबद्ध भएका पनि उनीहरु आपसमा भिडन्त गरिरहेका छन् । जबकि जसपाले दुवै जनाको उम्मेदवारीबाट एक जनालाई झिक्न सकेन । 

अर्कातर्फ एमाले उम्मेदवार शाक्य दोस्रो पटक उपराष्ट्रपतिमा लड्दै छिन् । उनी यसअघि पनि उम्मेदवार बनेकी थिइन् । त्यतिबेला भने उनले चार मतमात्रै ल्याएकी थिइन् । 

यसपालि कम्तीमा पनि एमाले सबैको मत उनलाई आउने छ । 

किन दुई जना नै राख्यो जसपाले ? 

जसपाले दुईमध्ये एक जनाको उम्मेदवारी फिर्ता गराउने तयारी गरेको थियो । त्यसका लागि छलफल पनि चलेको थियो । तर अन्तिममा कसैको पनि नाम फिर्ता लिएन । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महिलालाई मात्र उम्मेदवारी दिन आग्रह गरेका थिए । त्यसको विरोधसमेत भएको थियो । सोही कारण जसपाले रामसहाय र प्रमिला दुवैलाई उम्मेदवारी दिन लगाएको थियो । 

जसपाको पहिलो प्राथमिकतामा रामसहाय थिए । दोस्रो प्राथमिकतामा प्रमिला । यदि आयोगले पुरुष हुन दिएन र रामसहायको उम्मेदवारी रद्द गराइदियो भने प्रमिला छँदैछिन् भन्ने उसको बुझाइ थियो । 

तर आयोगले दुवै जनाको उम्मेदवारीलाई वैधता दियो । रामसहायविरुद्धमात्र दावी विरोध परेको थियो । त्यो पनि दुई वटा परेका थिए । 

आयोगले भने दुवैलाई मान्यता दियो । जसपाले प्रमिलाको उम्मेदवारी फिर्ता लिएर रामसहायको मात्रै कायम राख्ने तयारी गरेको थियो । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले पार्टीका शीर्ष नेताहरू र सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए ।

तर नेताहरुले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको र उपराष्ट्रपति महिला हुनैपर्ने मागसहित सर्वोच्चमा मुद्दा पर्ने कुरा उठेपछि दुवैको उम्मेदवारी कायम राख्ने निर्णय भएको थियो । 

अदालतमा रिट परेमा न्यायाधीशले कस्तो निर्णय गर्न सक्छन् भन्ने यकिन नभएकाले नै उपराष्ट्रपतिमा पार्टीबाट दुवै उम्मेदवारको नाम कायम राखिएको जसपाका एक सांसदले बताए । 

उनले मुद्दा नपरे र दुवैको उम्मेदवारी कायमै रहिरहे निर्वाचन अघिसम्म कुनै निर्णय लिइने बताएका छन् । त्यो भनेको प्रमिलालाई कुनै पनि बेला पछि हटेको सन्देश दिन लगाउने र रामसहायलाई नै अगाडि बढाउने । 

यसको प्रमुख कारण हो जसपा अध्यक्ष उपेन्द्र यादवको महत्वाकांक्षा । उनी कुनै पनि हालतमा रामसहायलाई जिताएर उनले जितेको बारा २ मा आफू चुनाव लडेर गठबन्धनको बलमा जित्ने । अनि उपप्रधानमन्त्रीसहित सरकारमा जाने उपेन्द्रको धोको छ । 

तर उनको धोको पूरा होला वा नहोला त्यो भोलिको दिनले बताउने छ । उपराष्ट्रपतिको चुनाव चैत ३ गतेका लागि तोकिएको छ । 

जबकि जनमत पार्टीले कुनै पनि हालतमा फिर्ता नलिने बताइसकेको छ । त्यतिमात्र हैन जनमतसँग लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सम्झौता गरिसकेका छन् । 

यसले गर्दा तराईमै उपेन्द्रको पार्टी एक्लिएको छ । 

त्यसैले पनि गठबन्धन दलमा जनमतकी ममता हावी हुने अनुमान भइरहेको छ । 

चुके प्रमुख निर्वाचन आयुक्त 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया चुकेका छन् । उनले शुक्रबार पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै सोही अनुसार गर्न दलहरुलाई आग्रह गरे । 

जबकि कानूनले भने महिला नै हुनुपर्ने भन्ने प्रावधान स्पष्टसँग लेखिएको छैन । राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला हुँदा राम्रो हो । तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ ले यस बारेमा बोलेको छैन । 

तर नेपालको संविधान २०७२ को धारा ७० ले स्पष्ट भनेको छ । 

त्यहाँ लेखिएको छ, ‘७०. राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुनेः यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।’

अब प्रमुख निर्वाचन आयुक्त कहाँ चुके ? फेरि आयोगले नै आइतबार पुरुष उम्मेदवारलाई पनि मान्यता दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ