arrow

विश्वकप लिग २

पीएनजीमाथि नेपालको शानदार जित, विश्वकप छनोट नजिक

आसिफ शेखले बनाए कीर्तिमानी अर्धशतक, नेपालको ११ खेलमा १० जित, बिहीबार यूएईलाई हराए विश्वकप छनोट खेल्न जिम्बावेको टिकट काट्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
nepal-odi-2023-03-13.jpg

काठमाडौं । एक दिवसीय मान्यतालाई सुरक्षित राखिसकेको नेपालले राजधानीमा जारी आईसीसी विश्वकप लिग २ मा त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो अन्तिम खेलमा शानदार जित हासिल गरेको छ । 

नेपालले पपुवा न्युगिनी पीएनजीलाई ९ विकेटले हराएको हो । ९६ रनको झिनो चुनौती नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । 

आसिफ शेखले २१ बलमा अविजित रहँदै ५३ रन बनाए । उनले कम बलमा अर्धशतक पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् । कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए भने कुशल मल्लले १३ बलमा अविजित रहँदै १२ रनको योगदान दिए । 

नेपालले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रियमा ९ विकेटको जित हासिल गरेको हो । त्यस्तै ७.४ ओभरमै एक दिवसीयमा जित हासिल गरेको पनि यो पहिलो पटक हो ।

यसअघि सन् २०२० मा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो । 

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा पीएनजीले टस हारेर पहिले ब्याटिङ गर्दै ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनायो । कप्तान असाद भालाले सर्वाधिक २० रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले ५, ललितनारायण राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट लिए । 

यो जित हासिल गरेसँगै नेपाल विश्वकप छनोट सिधै खेल्ने बाटोमा अब एक जित मात्र पछाडि छ । नेपालले बिहीबार यूएई विरुद्धको अन्तिम खेल जिते पुग्नेछ । नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेर सनसनी मच्याइरहेको छ । 

अहिलेसम्म स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भइसकेको छ । ओमान ४४ अंकबाट दोस्रो स्थानमा छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको नेपालको ३५ खेलबाट ३८ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ । 

३४ खेलबाट ३१ अंकको यूएई छैटौं स्थानमा छ । ३५ खेलबाट ११ अंकको पीएनजी पुछारमा छ । 

नेपाल बाँकी एक खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ । यूएईले भने एक दिवसीय मान्यता जोगाउने सम्भावना कम भएको छ । 

सातमध्ये शीर्ष तीनमा रहने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । शीर्ष पाँच टिमको एक दिवसीय वरियता कायम रहने छ । पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने छन् । 

अहिलेसम्म पीएनजीले एक दिवसीय मान्यता गुमाएको छ भने अमेरिका र यूएईमध्ये एक टिमले उक्त मान्यता गुमाउने छन् । 

बाँकी खेलहरु–
यूएई र पीएनजी बुधबार ।
नेपाल र यूएई बिहीबार ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ