arrow

मुस्ताङका उत्पादनमा टेवानको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
tewan.jpg

मुस्ताङ । पोखरास्थित पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले मुस्ताङका उत्पादन सामाग्रीलाई जिल्ला बाहिर प्रवर्द्धन गर्न चासो दिएका छ । ‘डिजिटल मार्केटिङ्ग’ तथा अन्तरक्रियाका लागि मुस्ताङ पुगेको टेवानको टोलीले यस्तो चासो दिएको हो । 

मुस्ताङमा फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस उत्पादन हुने र यी सामाग्रीलाई जिल्ला बाहिर पुर्याउनुपर्नेमा टेवानको जोड छ ।

सो अवसरमा आँखीझ्याल टेक्नोलोजिजका इन्जिनियर उज्ज्वल पौडेलले अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवर्द्धन र उत्पादनको बजारीकरणको उपायबारे जानकारी गराएका थिए । 

कार्यक्रमका वक्ताले पर्यटकीयरुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताए । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले साँझेदारीका माध्यमबाट दुबै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिइन् । 

‘मुस्ताङका स्थानीयवासी अतिथि देवो भवःको मन्त्रलाई सदैब आत्मसात गर्दै आएका छन्,’ उनले भनिन्, ‘प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक रुपमा मुस्ताङ महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।’

पर्यटकीय विकाससँगै मुस्ताङका स्थानीयवासी उत्पादनसँग पनि जोडिने अभियान सुरु गरिएको भन्दै उनले मुस्ताङमा उत्पादित अन्न, स्याउलगायत प्रशोधन गर्ने काय पनि सुरु गरिएको बताइन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले पर्यटनको विकासका लागि उत्पादन, प्रवर्द्धन र बजारीकरण आवश्यक भएको बताए । मुस्ताङका मौलिक संस्कार र संस्कृतिको प्रवर्द्धन जरुरी रहेको भन्दै उनले पर्यटकको बसाइँ अवधि लम्ब्याउनका लागि पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने स्पष्ट पारे । 

‘मुस्ताङमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पर्यटक तान्न सकिने विविधतायुक्त स्थान रहेको भन्दै प्रजिअ केसीले यसलाई लक्षित गरी प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । 

घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले यस क्षेत्रको पर्यटकीय प्रवर्द्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताए । प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवम् सांस्कृतिकरुपमा यहाँको महत्त्व रहेको बताउँदै उनले पर्यटन लक्षित योजनालाई अघि बढाउन लागिएको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङ धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गर्दै बौद्ध धर्मगुरु पद्मसम्भवले यहीँबाट बौद्ध धर्मको प्रचारप्रसार गरी त्यसले विश्वव्यापी स्थान लिएपनि त्यसको प्रचारप्रसार हुन नसकेको बताए । 

मुस्ताङको दीगो पर्यटकीय विकासका लागि यहाँका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदा जोगाउन आवश्यक रहेको मुल्मीले बताए । 

पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आइसकेको अवस्थामा मुस्ताङका उत्पादनलाई विश्व बजारमा पुर्याउने गरी लाग्नुपर्ने बताए ।

टेवानका अध्यक्ष कमला गिरीले पोखरा र मुस्ताङको पर्यटकीय सम्बन्ध बढाउनकै लागि मुस्ताङमा प्रवर्द्धनात्मक कार्यक्रम ल्याइएको बताइन् ।

घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा थकालीले पोखरा र मुस्ताङको पर्यटकीय साझोदारीले दुबैलाई अधिकतम फाइदा पुग्ने बताइन् 

कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलका अनुसार टेवानको टोली पहिलो दिन फागुन २४ मा ठिनीस्थित थकाली सामुदायिक होमस्टेमा पुगेर बसेको थियो । 

दोस्रो दिन उपल्लो मुस्ताङको लोमन्थाङ, तेस्रो दिन कोरला नाका, छोसेरस्थित ऐतिहासिक शिजा झोङ गुफा अवलोकन गरेर मुक्तिनाथ फर्किएको थियो । त्यस दिन जोमसोम बास बसेको टोली चौंथो दिन म्याग्दीको गलेश्वरधाम हुँदै पोखरा फर्किएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ