arrow

दुई पटक शुभ बेला परेको यस्तो हुनेछ आजको दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ चैत २ बिहिबार
rashifal-horoscope-2.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ चैत्र २ गते बिहीबार, इस्वीसंवत मार्च १६ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको नवमी तिथि रहनेछ ।

नक्षत्रमा पूर्वाषाढा, विष्कुम्भादि योगमा व्याघात, करणमा गर, आनन्दादि योगमा धाता रहनेछ । सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । दिनमान २९ घटि ५२ पला अर्थात ११ घण्टा ५९ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२३ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः१० बजे हुनेछ ।

आजको राशिफल 

मेष : आज पनि समय शुभ छैन । शुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना पलाउन सक्छन् । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तनमननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । तर रोकिएका कामप्रति लगनशीलता देखाएमा भने सफलता प्राप्त पर्नेछ ।

वृष : आज पनि समय खराब रहनेछ । प्रतिद्वन्द्वीहरूसँग सतर्क रहने दिन हो । पछाडि बसेर चियोचर्चो गर्नेले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठूक पर्न सक्छ । अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिकरूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा पनि हुन सक्नेछ ।

मिथुन : आज पनि समय शुभ छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ ।

कर्कट : आज पनि समय खराब छ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइ लेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेम सम्बन्धमा तिक्तता आउन पनि सक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

सिंह : आज पनि समय राम्रो छ । झिनामसिना र सानातिना कुरामा रुमल्लिएर आजको दिन व्यतित हुनसक्छ । मिहिनेत गरेबमोजिमको जस नपाइए पनि हौसला घट्ने देखिँदैन । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्ने दिन रहेको छन् । बन्द व्यापारबाट पनि भनेजस्तै लाभ हुनेछ । पारिवारिक सम्बन्धमा सामान्य तनाव हुन सक्छ । मनमा दोधार भइरहने छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन ।

कन्या : आज पनि समय खराब छ । अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । व्यवसायिक जीवन यथावत रहने छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावनासमेत छ, सतर्क हुनुहोला ।

तुला : आज समय समय छ । स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ ।

वृश्चिक : आज पनि समय सामान्य छ । मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नुपर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गा जमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेशा÷रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ ।

धनु : आज पनि समय शुभ छ । घरमा अतिथिको आगमन हुन सक्छ । पुराना कुरा र यादमा आजको कुनै समय व्यतित हुन सक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ ।

मकर : आज पनि समय राम्रो छैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधा अड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन रहेको छ । स्वास्थ्यमा समस्या हुन सक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी हुनेछ । सँगीसाथीको साथ लिन कठिन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ, सतर्क हुनुहोला ।

कुम्भ : आज पनि समय शुभ छ । नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ ।

मीन : आज समय शुभ रहनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसन डिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मीठो भोजनको अनुकूलता मिल्नेछ । धार्मिक एवं सामाजिक कामको दायित्व लिनुपर्ने हुन्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ ।

साइतः सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः१२ बजेदेखि      ०७ः४२ बजेसम्म     शुभ बेला
बिहान ०७ः४२ बजेदेखि      ०९ः१२ बजेसम्म     रोग बेला
बिहान ०९ः१२ बजेदेखि      १०ः४२ बजेसम्म     उद्धेग बेला
बिहान १०ः४२ बजेदेखि       १२ः१२ बजेसम्म    चर बेला
दिनमा १२ः१२ बजेदेखि       १ः४२ बजेसम्म     लाभ बेला
दिनमा १ः४२ बजेदेखि        ३ः१२ बजेसम्म     अमृत बेला
दिनमा ३ः१२ बजेदेखि        ४ः४२ बजेसम्म     काल बेला
      ४ः४२ बजेदेखि        ०६ः१२ बजेसम्म    शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ