arrow

नेपाल जिम्बावेमा हुने विश्वकप छनोटमा छानियो, यूएईमाथि डक वर्थ लेविसमा नौ रनले हरायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
nepali-cricket-fan-tu-2079-12-02a.jpeg

काठमाडौं । नेपाल जिम्बावेमा हुने विश्वकप एक दिवसीय छनोट क्रिकेटमा छानिएको छ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अन्तिम खेलमा कीर्तिपुर मैदानमा डक वर्थ लेविस नियमअनुसार ९ रनले पराजित गर्दै नेपाल शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोट खेल्न पाएको हो । 

डकवर्थ लेविस नियमअनुसार ४४ ओभरमा नेपालले २६० रन बनाए पुग्नेमा २६९ रन बनाएको हो । आगामी जुनमा जिम्बावेमा विश्वकप छनोट हुनेछ । 

३११ रनको विशाल चुनौती लिएर उत्रिएको नेपालले खराव प्रकाशका कारण खेल रोकिनुपूर्व ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनायो । यो नेपालको रेकर्ड जित हो । 

९८ रन जोड्दा ४ विकेट गुमाएर खराव शुरुआत गरेको भए पनि युवा खेलाडीहरुले नेपालको ब्याटिङ लाइन सम्हालेसँगै नेपाल जित हासिल गर्न सफल भएको हो । 

नेपालका लागि भीम सार्कीले ७६ बलमा ६७ रन बनाए । त्यस्तै आरिफ शेखले ५२, कुशल भुर्तेलले ५० तथा १७ वर्षे गुल्शन झाले अविजित रहँदै ५० रन बनाए । 

यसअघि १ रन जोड्दा पहिलो, ६ रन जोड्दा दोस्रो, ३७ रन जोड्दा तेस्रो विकेट गुमाएको नेपालले ९८ रन जोड्दा चौथो विकेट गुमाएको थियो । आशा देखाएका कुशल भुर्तेल ३५ बलमा ५० रन बनाएर आउट भए । त्यस्तै कप्तान रोहित पौडेलले २५ बलमा १६ रन बनाए । कुशल मल्ल ५ तथा अरिफ शेख ० मा आउट भए ।

यूएईको इनिङ्स–

खेलमा टस पहिले ब्याटिङ गरेको यूएईले ६ विकेट गुमाएर ३१० रन बनायो । वृत्तिय अरबिन्द ९४ रनमा आउट भए भने कप्तान मुहम्मद वासिमले ४९ बलमा ६३ रन जोडे । 

तर यूएईका लागि आसिफ खानले कीर्तिमानी शतक बनाए । उनले ४१ बलमा शतक पूरा गरे । एसोसिएट राष्ट्रका खेलाडीले बनाएको यो सबैभन्दा कम बलको शतक हो । उनले अविजित रहँदै ४२ बलमा १०१ रन बनाए । 

नेपाली बलिङ पूरै ध्वस्त भएको खेलमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २ विकेट लिए । सन्दीप लामिछाने सबैभन्दा फ्लप सावित भए । उनले १ विकेट लिएका भए पनि एकै ओभरमा लगातार चार चौका दिएका थिए । ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए । 

मैदानमा दर्शकको उपस्थिति खचाखच रहेको थियो । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड पनि खेलाडीको मनोबल बढाउन मैदानमा पुगे । नेपाल क्रिकेट संघ क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । 

यो खेलबाटै विश्वकप छनोटमा सिधै खेल्ने टिमको छिनोफानो, एक दिवसीय मान्यता कायम राख्ने टिमको छिनोफानो र एक दिवसीय मान्यता गुमाउने टिमको छिनोफानो भएको छ । 

यो खेलमा जित हासिल गर्दै नेपाल सात टिम सहभागी विश्वकप लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोट सिधै खेल्न पाएको हो । नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेको छ ।

अंक तालिकाबाट बुझ्दा–
सबै टिमले ३६ खेल खेलेपछि को कहाँ रहे भन्ने छर्लङ्ग भएको छ । सातमध्ये शीर्ष तीन टिमले विश्वकप छनोट खेल्न पाउने, शीर्ष पाँच टिमले एक दिवसीय मान्यतालाई कायमै राख्न पाउने र पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाएका छन् । 

जसका कारण स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानको नेपालको ४० अंक छ । चौथोमा झरेको नामिबियाको ३९ अंक छ । 

अमेरिकाको ३५ अंक रहेको छ । अमेरिकाले एक दिवसीय मान्यता सुरक्षित राखेको छ । यूएई ३३ अंक र पपुवा न्युगिनी ११ अंकबाट एक दिवसीय मान्यता गुमाउन वाध्य भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ