- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहेको हो । मतदानका लागि बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
लाइनमा महिला र पुरुष सांसदको लाइन छुट्टाछुट्टै रहेको छ । सांसदहरुको उपस्थिति भने शुरुआतमा बाक्लो देखिएको छैन ।
निर्वाचनमा संघीय संसद् प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले मतदान गर्नेछन् । संघीय संसद्का ३३२ मतदाता रहेका छन् । प्रदेश सभाका ५५० जना मतदाता रहेका छन्् ।
मतदाताको अन्तिम नामावलीमा नाम समावेश भइसकेपछि जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको थियो ।
त्यस्तै एमाले, कांग्रेस र माओवादी केन्द्रका एक एक सांसद सहभागी हुने छैनन् । मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको अधिकृत पौडेलले बताए ।
उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।
उपराष्ट्रपति निर्वाचनको मत परिणाम साँझसम्म सार्वजनिक भइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपतिका लागि चार उम्मेदवार रहेका छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीबाट ममता झा तथा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले उम्मेदवारी दिएका हुन् ।
प्रमिलाले रामसहायलाई समर्थन गर्दै उमेदवारी निष्क्रिय भएको बताए पनि निर्धारित अवधिभित्र उनले उम्मेदवारी फिर्ता नलिएकाले मतपत्रमा उनको नाम र तस्बिर भने रहेको छ ।
हालका उपराष्ट्रपति नन्दबहादुर पुन भने आफ्नो निजी निवासमा सरिसकेका छन् ।
यसअघि गत फागुन २५ गते राष्ट्रपतिको निर्वाचन भएको थियो । रामचन्द्र पौडेल राष्ट्रपति बनिसकेका छन् ।
राप्रपाले मतदान बहिस्कार गरेको छ भने रास्वपाले निर्णय गरेको छैन । सत्ताधारी दलहरुबीच नै दुई जना उम्मेदवार हुँदा नतिजा यसै भन्न सक्ने अवस्था रहेको छैन ।
उम्मेदवारले २६ हजार बढी मत नपाए दोस्रो चरणमा मतदान हुनेछ ।