arrow

क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिने प्रचण्डको प्रतिबद्धता, यसो भन्छिन् रेणु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
prachanda-renu-tu.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन क्रिकेट रंगशालाहरु निर्माण कार्यमा तीवता दिन सरकारका तर्फबाट आवश्यक प्रबन्ध मिलाउने बताएका छन् । 

आज नेपाली क्रिकेट टिमका खेलाडी तथा प्रशिक्षकलाई बालुवाटारमा बोलाई बधाई तथा शुभकामना दिँदै प्रचण्डले पुरस्कार राशिकोसमेत घोषणा गर्दै पुनःनिर्माणमा सहयोग गर्ने बताएका हुन् । 

उनले विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टिमका विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेका छन् । 

सो क्रममा उनले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’ 

उनले भने, ‘‘मलाई अत्यन्त खुशी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरब बढेको छ । आगामी दिनमासमेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस् म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’ 

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् । म तपाईहरूको सुख दुःखमा साथमै हुनेछु । यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशिले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’ 

कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता छ ।

के भन्छिन् रेणु दाहाल ? 
प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुरमा अलपत्र परेको क्रिकेट रंगशाला छिट्टै बन्ने दाबी गरेकी छिन् । 

हिजो नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुर मैदानमा पुगेकी रेणुलाई उपस्थित दर्शकहरुले ‘रेणु दिदी स्टेडियम छिट्टो बनाउन पर्यो, हामीलाई स्टेडियम चाहियो’ भनेर हुटिङ गरेका थिए । 

त्यसपछि उनले आज सामाजिक संजालमा लेख्दै ‘ढुक्क हुनुस् भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ । केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ।’ 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ