arrow

अमृत बेला परेको शनिदेवको प्रिय दिन कस्तो होला ?

logo
ज्यो हरि पन्त,
प्रकाशित २०७९ चैत ४ शनिबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ चैत्र ४ गते शनिबार, इस्वीसंवत मार्च १८ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको एकादशी तिथि बिहान ११ः३२ बजेसम्म त्यसपछि द्वादशी तिथि रहनेछ ।

नक्षत्रमा श्रवण राति १२ः४३ बजेसम्म त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव भोलि बिहान ०५ः२४ बजेसम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा बालब बिहानमा ८ः२९ बजेसम्म त्यपछि कौलब करण लाग्नेछ भने आनन्दादि योगमा स्थिर रहनेछ । सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा अहोरात्र रहनेछ । दिनमान ३० घटि ० पला अर्थात १२ घण्टा ०३ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१३ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः१३ बजे हुनेछ । यस्तै, चन्द्र उदय ०३ः५१ बजे र चन्द्र अस्त दिनमा २ः३१ बजे हुनेछ । आज पापमोचनी एकादशी व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज समय मध्यमखालको रहनेछ । आज लाभ हानी दुवै बराबर रहने योग छ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ । दिनको २ बजेपछि सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृष : आज पनि समय ठीक छैन । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ ।

मिथुन : आज समय खराब छ । एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्दैन । पहिलेका कमजोरीका कारण झमेला लम्बिन सक्छ । महत्वाकांक्षा जाग्नेछ, तर योजना कार्यान्वयन हुन सक्दैनन् । पढाइ लेखाइमा ध्यान केन्द्रित हुन सक्दैन ।

कर्कट : आज समय शुभ छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह : आज पनि समय राम्रो छ । श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैतृक धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।

कन्या : आज पनि समय शुभ छैन । आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ ।

तुला : आज समय शुभ छैन । स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारी तथा प्रशासनिक स्थरबाट आवश्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ ।

वृश्चिक : आज समय शुभ छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक÷सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । व्यवसायिक वा पेशागत जीवनमा शाख कायम रहने छ ।

धनु : आज समय अत्यन्तै खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरु तपाईभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबी हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरु निरर्थक हुनेछन् ।

मकर : आज अत्यन्तै समय राम्रो रहनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ ।

कुम्भ : आज पनि समय खराब छ । आफन्तहरु टाढिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनीति तथा समाज सेवामा जनताको काम गर्दा पनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा अविश्वास बढ्नेछ भने घर परिवारसंग पनि मनमुटाब सिर्जना हुनेछ । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ ।

मीन : आज पनि समय शुभ रहनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ ।

साइतः सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः१० बजेदेखि      ०७ः४० बजेसम्म     काल बेला
बिहान ०७ः४० बजेदेखि      ०९ः११ बजेसम्म     शुभ बेला
बिहान ०९ः११ बजेदेखि      १०ः४१ बजेसम्म     रोग बेला
बिहान १०ः४१ बजेदेखि       १२ः११ बजेसम्म    उद्वेग बेला
दिनमा १२ः११ बजेदेखि       १ः४२ बजेसम्म     चर बेला
दिनमा १ः४२ बजेदेखि        ३ः१२ बजेसम्म     लाभ बेला
दिनमा ३ः१२ बजेदेखि        ४ः४३ बजेसम्म     अमृत बेला
साँझ ४ः४३ बजेदेखि        ०६ः१३ बजेसम्म    काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ०९ः०० देखि मध्यान्ह १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ