arrow

मुख्यमन्त्रीको बोलीः सत्ता केन्द्रित राजनीतिले नागरिक समस्यामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
khagaraj-adhikari.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पछिल्लो समय सत्ता केन्द्रित राजनीतिले नागरिक समस्यामा परेको बताएका छन् ।

सत्ताका लागि मात्र राजनीति केन्द्रित हुन थालेको भन्दै उनले आफ्ना लागि सत्ता प्रमुख नभएको स्पष्ट पारे । जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने तवरले अघि बढ्न सके मात्रै देशकोे विकास हुने मुख्यमन्त्री अधिकारीको भनाइ थियो ।

अनलाइन पत्रकार संघ गण्डकीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले अनलाइन मिडियाको संख्या बढ्दै जाँदा गुणस्तरीयतामा ख्याल नगरिएको बताए ।

कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकरात्मक प्रभाव पारेको भन्दै मुख्यमन्त्री अधिकारीले अनलाइन मिडियाहरुलाई पनि नियमन गर्नुपर्नेमा जोड दिए । 

पत्रकार हित बमोजिम नै आमसञ्चार विधेयक ल्याउन गण्डकी सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभूति हुने बताइन् । 

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसंचार विधेयक पत्रकारमैत्री हुनुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्न संघ लाग्नुपर्ने बताइन् । 

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले अनलाइन कान्छो विधा भएर पनि सबै भन्दा प्रभावकारी भएको उल्लेख गरे । 

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले अनलाइनबाट अपेक्षा धेरै गरिएता पनि अनलाइनलाई नै संरक्षण गर्न सरकार मुकदर्शक बनेको बताए । 

संघका अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक मिडियामैत्री हुनुपर्ने धारणा राखे ।

उनले दर्तादेखि नविकरणसम्मको काम झण्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नविकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ