arrow

वडाध्यक्षमाथि दुर्व्यवहारको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
Banepa_Nagarpalika.png

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ११ का वडाध्यक्ष शिवबहादुर थापाले दुर्व्यवहार गरेको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका छन् । वडा कार्यालयमा निवेदन लिएर गएका सोही वडाका अच्युत बञ्जारा, सुनिल खड्का, उमारुद्र काफले, कृष्ण बाँनिया र लक्ष्मण बञ्जारालाई वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै विभिन्न दलका वडास्तरीय समितिले विरोधमा विज्ञप्ति जारी गरेका छन् । 

जनप्रतिनिधिको रुपमा दोस्रो कार्यकालमा रहेका थापा स्थानीय शारदादेवी सामुदायिक वन उपभोक्ता समितिको पनि १२ वर्षदेखि अध्यक्ष रहिरहेकाले समिति पुनर्गठनको लागि निवेदन दिन गएका स्थानीय युवालाई दुर्व्यवहार गर्दै पत्र च्यातिदिएका थिए । 

नेपाली कांग्रेस, राप्रपा नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, शिव सेना नेपालका वडास्तरीय नेताहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा वडाको विकास निर्माण, उपभोक्ता समिति गठन, सार्वजनिक सम्पत्तिहरु जस्तै वन, चौर, खानेपानी मुहान संरक्षणमा पारदर्शी, जबाफदेही हुँदै वडाका नागरिकहरुको हितमा काम गर्न अपील गर्दै आए पनि त्यस्ता आग्रह र अनुरोधलाई अवज्ञा गर्दै आएको आरोप लगाइएको छ । 

सडक निर्माणका नाममा सार्वजनिक सम्पत्तिको क्षति गर्ने, सार्वजनिक सम्पत्ति निश्चित ब्यक्तिलाई प्रयोग गर्न दिने र उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना नदिइ गुपचुप रुपमा गरेका घटनाहरुप्रति चिन्तित भएको उल्लेख छ । 

आफूमाथि दुर्व्यवहार भएको उजुरीसहित युवाहरु इलाका प्रहरी कार्यालयमा गए पनि जाहेरी दर्ता नभएको गुनासो गरे । 

वडाध्यक्ष थापाले भने आफूमाथि दुर्व्यवहार भएको तर बच्नको लागि युवाहरुले विज्ञप्तिको नाटक गरेको दाबी गरे । 

प्रहरीले दुवै पक्ष छलफल गरेर सहमति फिर्ता पठाएको बताएको छ । 

सुरक्षाको प्रत्याभुतिसहित दोषीमाथि कारबाही नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ