arrow

क्षयरोग उपचारमा गण्डकी प्रदेश अब्बल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
tuberculosis-desease.jpg

पोखरा । आज विश्व क्षयरोग दिवस । “हो । हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । त्यसपछि संसारभर क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो ।

यता, गण्डकी प्रदेशमा क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको छ । अन्य प्रदेशको भन्दा अब्बल रहेको गण्डकी प्रदेशको क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको गण्डकी प्रदेश निर्देनालयले जनाएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरामा बिहीबार आयोजना गरेको अन्तक्रियामा मन्त्रालयका क्षयरोग कार्यक्रम संयोजक राजेशकुमार यादवले गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा भने क्षयरोग उपचारमा ९१ प्रतिशत सफलता दर रहेको जानकारी दिए ।

उनका अनुसार गण्डकीमा पछिल्लो आठ महिनामा एक हजार ३३७ जना नयाँ बिरामी पत्ता लगाउनुपर्ने भएपनि आधा भन्दा कम अर्थात ६५५ जना मात्रै पत्ता लागेको छ । कास्कीपछि नवलपुरमा ५२९ जना नया बिरामी भेटिएको उनले जानकारी दिए ।

यो अवधिमा गण्डकीमा क्षयरोगबाट ९२ जनाको मृत्यु भएको जनाइएको छ । गण्डकीमा क्षयरोगबाट दैनिक सरदर चार जनाको मृत्यु हुने गरेको यादवले जानकारी दिए । गण्डकीमा वार्षिक पाँच हजार ६७७ जना नयाँ विरामी पत्ता लगाउनुपर्ने जिम्मेवारी भएपनि गत आर्थिक वर्ष २०७८/७९ मा दुई हजार २४७ जना मात्रै पत्ता लागेको उनले बताए । यस अवधिमा एक हजार ४६३ जनाको क्षयरोगबाट मृत्यु भएको जनाइएको छ ।

हरेक वर्ष मार्च २४ तारिखका दिन मनाइने यो दिवसमा यस वर्ष “हो । हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने नारा तय भएको छ । दिवसको अवसरमा क्षयरोग विरामीलाई फलफूल वितरण, कारागारका क्षयरोग बिरामीलाई पोषण भत्ता वितरण, क्षयरोग सम्बन्धी टिकटक प्रतियोगितालगायतका कार्यक्रम गरिने जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले जानकारी दिए ।

उनका अनुसार फोक्सो र फोक्सो बाहिर गरेर दुई प्रकारको हुने क्षयरोग हावाको माध्यमबाट सर्ने गर्दछ । क्षयरोग लागेको व्यक्तिमा साँझपख ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घट्नु, कमजोर हुँदै जानु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुँदै जानुका साथै खकारमा रगतसमेत देखिने उनले बताए ।

क्षयरोग लागेका व्यक्तिले समयमै स्वास्थ्य जाँच गराई औषधि खाएमा निको हुने उनले बताए । क्षयरोगको औषधि सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने आचार्यले बताए । प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहँदै आएको क्षयरोग सरुवा रोग भएका कारण हराइरहेका बिरामी पत्ता लगाउन निकै चुनौतीपूर्ण रहेको उनले बताए । क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ ।

क्षयरोग खोक्दा वा हाछ्युँ गर्दा बिरामीबाट हावामा गई हावालाई दूषित बनाउँछ र उक्त हावा स्वास्थ्य मानिसले लिँदा रोग सर्न सक्छ । ‘लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरू देखा परेमा रोग लागेको हुन सक्छ’, उनले भने, ‘यस्तो लक्षण देखिए नजिकको स्वास्थ्यसंस्थामा जचाउन जानुपर्छ ।’ क्षयरोग र कोरोना दुवै स्वासप्रस्वासबाट सर्ने रोग हो । यसले फोक्सोमा असर गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ