arrow

व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन वरिष्ठ उपाध्यक्ष ढकाल आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
chandra-dhakal-sudurpashchim-province-fncci.jpg

धनगढी। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई थप बिग्रनबाट जोगाउन र मुलुक भित्र व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको छैटौँ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई बढी नियन्त्रण गर्ने प्रयास गर्दा अहिलेको असहज परिस्थिति सृजना भएको र नीतिगत सुधार नगरी यसलाई सही बाटोमा ल्याउन नसकिने बताएका छन्।

“विगतमा अर्थतन्त्र सुधार गर्न राज्यले लिएका नीतिहरूले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सकेन। यसले उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सकेन। अब अर्थतन्त्र सुधार्न र व्यवसायीको मनोबल बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने जरुरी हुन्छ,” उनले भने। 

उनले अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। 

“सबै क्षेत्र अप्ठेरोमा परेका छन्। बैङ्क वित्तीय संस्था पनि निजी क्षेत्रकै अङ्ग हुन।  बैङ्क वित्तीय संस्थालाई मात्रै गाली गरेर हुँदैन। यो नीतिगत अस्थिरताले सिर्जना गरेको समस्या हो। यसको समाधान आन्दोलन गरेर पनि हुँदैन,” उनले भने “यसका समाधान सरकार, नेपाल राष्ट्र बैङ्क तथा निजी क्षेत्र सबै मिलेर गर्नुपर्छ।”

महासङ्घको सबै प्रदेशको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको प्रसङ्ग उठाउँदै उनले यसले महासङ्घलाई थप एकताबद्ध भई सरकारसँग सहकार्य गर्न सहयोग पुग्ने बताए।

“आजको यस प्रदेशको निर्वाचन सकिएसँगै ७ वटै प्रदेशमा महासङ्घको नयाँ नेतृत्व चयन भएको छ। यसले महासङ्घलाई बलियो बनाउनेछ। महासङ्घ जति बलियो हुन्छ त्यति नै अर्थतन्त्रमा पनि हामीले योगदान पुर्‍याउन सक्नेछौ,” उनले भने।

उनले सुन्दर सुदूरपश्चिम अभियानलाई बढवा दिन सके सुदूरपश्चिममा ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ