arrow

पशु चौपायामा लम्पी स्कीन रोगको प्रकोप

logo
राम धामी,
प्रकाशित २०७९ चैत १४ मंगलबार
cou-lampki.JPG

डडेल्धुरा । डडेल्धुराका किसानहरूले पालेका पशु चौपायामा ‘लुम्पी स्किन डिजिज भाइरल’ रोगको प्रकोप देखिएको छ । जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर, आलिताल गाउँपालिका तथा परशुराम नगरपालिकाका अधिकांश ठाउँमा किसानले पालेका पशु चौपायामा लम्पी स्कीन रोगको प्रकोप देखिएको हो । जिल्लाको गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा भने फाट्टफुट्ट रूपमा मात्रै लम्पी स्कीन रोगको प्रकोप देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ । 

पशु चौपायामा लम्पी स्कीन रोग देखा परेपछि किसानहरू चिन्तित भएका छन् । यहाँका किसानहरूले पालेको गाई, गोरु, भैँसीमा लुम्पी स्किन डिजिज भाइरल रोगको रोग देखा परेको आलितालका किसान जानकी भट्टले बताइन । लुम्पी स्किन डिजिज भाइरल रोगका कारण पशुहरू थलिन थालेपछि व्यवसायीक रूपमा उन्नत जर्सी गाईपालन गरिरहेका किसानहरूले लाखौं रकमको नोक्सानी ब्यहोर्नु परिरहेको आलितालको घरेलुबजारस्थित मडै एग्रोभेटका सञ्चालक जगनसिँह मडैले बताए । जिल्लाको भित्रिमधेस क्षेत्र व्यवसायीक रूपमा उन्नत जर्सी गाईपालनका लागि अग्रणी मानिन्छ । 

धेरै पशुहरूमा लुम्पी स्किन डिजिज भाइरल रोगको सङ्क्रमण देखिएको र धमाधम बिरामी पर्न थालेकाले दूध उत्पादन घटेको स्थानीय किसानहरू बताउँछन् । लम्पी स्कीन रोग लागेपछि पशुहरूमा उच्च ज्वरो आउने, ५० देखि ८० प्रतिशत दूध उत्पादन घट्ने, पशुहरूको शरीरको तल्लो भाग सुन्निने, गिर्खाहरू देखिने, ब्याउने पशुहरू तुहिने तथा बाझोपन देखिने समस्या आउने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख देवराज भट्टले जानकारी दिए ।   

उनका अनुसार लम्पी स्कीन रोगको प्रकोप देखिएका स्थानहरूमा पशुहरूलाई आकस्मिक उपचारका लागि एन्टीबायोटिक औषधिहरूबाट उपचार भइरहेको छ । केन्द्र प्रमुख भट्टसहितको पशु चिकित्सक तथा प्रावधिकहरुको टोलीले गाउँ गाउँमा पुगेर उपचार सेवा प्रदान गरिरहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरामा मात्रै नभई छिमेकी बैतडी जिल्लाको तल्लो स्वराड क्षेत्र, पुर्चौडी क्षेत्र र च्वागड क्षेत्रका पशुहरूमा पनि लम्पी स्कीन रोगको प्रकोप देखिएको छ । 

बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी ‘लुम्पी स्किन डिजिज भाइरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिए । गाउँपालिकाका विभिन्न बस्तीहरूका साथै तल्लो स्वराड क्षेत्रमा गाई गोरुमा रोगको सङ्क्रमण फैलिएको उनले बताए । रोग नियन्त्रण गर्न नेपालमा कुनै खोप नभएका कारण सामान्य प्राथमिक उपचार थालिए पनि रोग नियन्त्रण हुन नसकेको उपचारमा संलग्न पशु चिकित्सकहरू बताउँछन् ।

लुम्पी स्किन डिजिज भाइरल रोगको प्रकोप लामखुट्टे, झिँगा तथा किर्नाको टोकाइबाट हुने गरेकोले सङ्क्रमण फैलन नदिन लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुहरूलाई बचाउनु पर्ने चिकित्सकहरूको सुझाव छ । यसको खोप समेत नेपालमा उपलब्ध नभएका पशु चिकित्सकहरू बताउँछन् । बैतडीमा कुनै खोप नभएकोले नियन्त्रणका लागि कठिनाइ भइरहेको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका पशु चिकित्सक डा. विशाल पाठकले बताए ।  

डा. पाठकले लुम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको जानकारी दिए । त्यसपछि चितवनमा देखा परेको लुम्पी स्किन डिजिज बैतडीको शिवनाथ गाउँपालिकाबाट गत सातदेखि शुरु भएको हो । रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख भट्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ