arrow

गलत सूचना प्रवाह हुँदा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८१ असार २० बिहिबार
National-Identity-Card-of-Nepal_.jpg.jpeg
तस्बिर – फाइल ।

डडेल्धुरा । आगामी आर्थिक वर्षदेखि डडेल्धुराको हकमा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गलत खबर प्रवाह हुँदा यहाँका जेष्ठ नागरिकले सास्ती भोगिरहेका छन् । असारको शुरुबाटै दैनिक झण्डै एक सयको संख्यामा ज्येष्ठ नागरिकहरुको प्रशासनमा भीड लाग्ने गरेको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । विभागले पहिलो चरणमा डडेल्धुरा जिल्लालाई समावेश गरेको छैन ।

तर राष्ट्रिय परिचयपत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै यहाँका ज्येष्ठ नागरिकहरु सकी नसकी राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन धाइरहेका छन् । नवदुर्गा गाउँपालिका–४ सुवाकोटका पदम भुलले परिचय पत्र नबनाए भत्ता पाइँदैन भनेर आफू प्रशासनसम्म पुगेको बताए ।

जिल्ला प्रशासन कार्यालयमा परिचय पत्र बनाउने एक जनामात्र दर्ता अपरेटर भएकाले पनि सेवाग्राहीले लामो समय लाइन बस्नु पर्ने बाध्यता छ । गन्यापधुरा गाउँपालिका–४ गनेडाका भक्तबहादुर ठगुन्नाले राष्ट्रिय परिचयपत्र वडामै बन्ने भए दुःख भोग्नु नपर्ने बताए ।

वैयक्तिक तथा जैविक विवरण समेटिएको बायोमेट्रिक कार्ड राष्ट्रिय परिचयपत्र भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्दछ । स्थानीय तहहरूले धमाधम सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र नम्बर लिन जिल्ला प्रशासन जान भनेपछि अहिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिक पनि अन्यौलमा छन् । 

तर डडेल्धुरामा दोश्रो चरण अन्तरगत माघ महिनापछि मात्र यसलाई प्रयोगमा ल्याउने तयारी गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए । 

सरकारले बैंकिङ सेवा, टेलिफोन तथा सिमकार्ड लिन र घर–जग्गा किनबेच गर्दासमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ