arrow

राजावादीहरु एक ठाउँमा

इनरुवामा पूर्वराजाको नागरिक अभिनन्दन, झस्किँदै गणतन्त्र

हामीले त राजासहितको प्रजातन्त्र हुनुपर्छ भनेर भनिराखेको हो –केशरबहादुर विष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
keshar-bahadur-bista.jpg
तस्बिर – नागरिक अभिनन्दन समिति संयोजक केशरबहादुर विष्ट ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन सोमबार हुँदैछ । सुनसरीको इनरुवामा नागरिक अभिनन्दन हुन लागेको हो । यो नागरिक अभिनन्दनको चाँजोपाँजो राष्ट्रिय शक्ति नेपालले गर्न लागेको हो । शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति बनेको छ । विष्टले ‘श्री ५ महाराजाधिराज सरकारको नागरिक अभिनन्दन’ नामकरण गरिएको जानकारी दिए । 

सोमबार इनरुवामा नागरिक अभिनन्दन गरिने भएकाले उक्त स्थानमा आयोजना हुने ‘कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण इच्छुक संघसंस्था तथा व्यक्तिहरु उपस्थित भईदिनु हुन हार्दिक आह्वान गर्दछु’ भनी विष्टले दुई साताअघिदेखि नै पत्र काटेका थिए । 

यो नागरिक अभिनन्दनका लागि विष्टको टिम केही सातादेखि खटिइरहेको छ । उनले इनरुवाको कार्यक्रममा पूर्वबाट त राजावादी र अस्थावानमात्र नभइ देशैभरबाट आउने दाबी गरे । उनले हजारौंको सहभागीतामा नागरिक अभिनन्दन भब्य हुने दाबीसमेत गरेका छन् । 

विष्टसँग गरिएको छोटो कुराकानी:
कसरी तयारी गर्दै हुनुहुन्छ नागरिक अभिनन्दनको ?

  • राजाको सवारी इनरुवामा हुँदैछ । नागरिक अभिनन्दनका लागि सबैलाई आमन्त्रण गरिएको छ । एक हजार एक जनाको अभिनन्दन मूल समारोह समिति बनेको छ । अभिनन्दन स्थललाई भब्य बनाइएको छ । धेरै स्वागतद्धारहरु बनेका छन् । बन्दोबस्तीका साथ व्यवस्थित तरिकाले चलिरहेको छ । 

सहभागीता कस्तो हुनेछ अपेक्षा छ ? 

  • देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने क्रम जारी रहेको छ । पूर्वबाट त सबैको सहभागीता हुन्छ नै जिल्ला जिल्लाबाट हामीलाई सम्पर्क गरेर आउँदैछौं भनेर भन्नुभएको छ । यो त नागरिकले खुल दिलले गर्ने अभिनन्दन हो । त्यसैले धेरैको सहभागीता हुन्छ । कुनै दलीय नभइ मञ्च सबैको साझा होस् भनेर आयोजक भनेर कोही पनि राखिएको छैन । नेपाली कांग्रेस, राप्रपासहित अन्य दलबाट पनि स्वतस्फूर्तरुपमा आउँदै हुनुहुन्छ । राप्रपाका त केन्द्रीय सदस्यहरु नै सहभागी हुनुहुनेछ । 

अहिले नै पूर्वराजालाई नागरिक अभिनन्दन गर्नुको कारण ? 

  • राजालाई मान्नलाई कारण चाहिन्छ र ? राजा भन्या दलभन्दा माथि हो । देश अक्षमताको पराकाष्ठामा पुगेका बेलामा राजावादीहरुले राजा सम्झनु पक्कै राम्रो कुरा हो । देशको समस्या समाधान त गर्नुपर्यो नि । राजा हटेको १५–१६ वर्ष भयो । तर देश त झन् झन् दलदलमा फस्दैछ । हामीले त राजासहितको प्रजातन्त्र हुनुपर्छ भनेर भनिराखेको हो । सबै मिलेर देश बनाउँ भन्ने हो । हामीले दलहरु खारेज गरेर अर्को व्यवस्था ल्याउन खोजेको त हैन नि । यहाँ राष्ट्र बनाउने, देश बनाउने र देशको विकास गर्नका लागि अग्रसर गराउनु पर्नेमा राजालाई निषेध गर्ने काम भइरहेको छ । 

शुरुदेखि नै राजसंस्था जोगाउने गतिविधिमा सक्रिय हुनुभएको छ । तर क्रेडिट त राप्रपाले लिइरहेको छ नि ? 

  • म शुरुदेखि सक्रिय भएर लागेको देखिनु नै ठूलो कुरा हो । राष्ट्र सम्झेर गर्ने काम हो । राप्रपाले गरेको काम मात्र हैन वीपी कोइरालाले राख्नु भएको थिएन र ? मनमोहन अधिकारीले राख्नु भएको थिएन र ? मदन भण्डारीले राख्नु भएको थिएन र ? हामीले राजासहितको प्रजातन्त्र भनेका छौं । अहिले देश खोक्रो पार्न थालिएको छ । यसलाई बचाउनु पर्यो भनेर लागेका हौं ।  

तपाईको स्वार्थ ? 

  • यो राष्ट्रिय चिज हो । देश जोगाउने काममा मात्र हिँडेको हुनाले मेरो कुनै स्वार्थ छैन । म कुनै स्वार्थमा कुँद्ने मान्छे हैन । देश कुनै पनि हालतमा जोगाउनु पर्छ । 

के त नागरिक अभिनन्दनको समय तालिका ? 

  • राजा झापादेखि आउँदा र बाटोको कारणले गर्दा केही समय तलमाथि हुन सक्छ । तर दिउँसो २ बजेदेखि शुरु गर्ने कार्यक्रम छ । एसईईको जाँचका कारणले पनि समय ढिला गरी राखिएको छ । जिल्ला प्रशासनले पनि अनुरोध गरेर समय ढिला आयोजना गर्न भनेको थियो । त्यो एकदम राम्रो हो । एसईईको जाँचका बेलामा कुनै पनि डिस्टर्ब विद्यार्थीलाई नहोस् भनेर हामी सचेत भएका छौं । आयोजना स्थलको वरिपरि चार पाँच वटा विद्यालय छन् । त्यसैले पनि जाँच सकिएपछि नै हामीले जुलुस निकाल्ने छौं । कार्यक्रम सकभर छोटो हुनेछ । स्वागत हुन्छ ।  समितिले केही समय लिन्छ । अभिनन्दन चढाउने हो । त्यसपछि सकिन्छ । 

पूर्वराजाले सम्बोधन गर्ने कार्यक्रम पनि छ ? 

  • त्यो हामीले राजालाई नै छाडेका छौं । उहाँले सम्बोधन गर्न पनि सकिसिन्छ । नगर्न पनि सकिसिन्छ । अभिनन्दन समितिले कुनै दबाब दिन्न । सम्भवत केही पक्कै सम्बोधन हुनेछ । 

झस्कदै गणतन्त्र
पूर्वराजाको यो नागरिक अभिनन्दनका कारण केन्द्रमा गणतन्त्रका पक्षहरुको सातो गएको बुझिन्छ । पछिल्लो समय गणतन्त्रधारी दलहरुप्रति नागरिक अभिरुची घट्दै गइरहँदा पूर्वराजाको गर्न लागिएको नागरिक अभिनन्दनका कारण शीर्ष नेताहरु झस्किएको दाबी राजावादीहरुको छ । 
 राजावादीहरुले बिना जग देशको ढुकुटी रित्याउन सक्रिय भएको आरोप शीर्ष नेताहरुलाई लगाउँदै आएका छन् । नेताहरुलाई उनीहरुले देश बनाउन भन्दा पनि शक्ति आर्जन गर्न हानथाप गरिरहेको आरोप लगाउँदै आएका छन् । 

पूर्वराजाबाट दलहरुलाई विभिन्न सन्देश दिँदै देश नबनाए दुर्घटना बेहोर्नुपर्ने भनी सचेत गराइरहँदा बेवास्ता गर्दै आइरहेका छन् । तर पछिल्लो समय राजावादीहरु सक्रिय हुँदै जाँदा उनीहरुमाथि डर मडारिइरहेको छ । 

संसदमा राप्रपाले खरो भएर राजसंस्थाको वकालत गर्ने र विभिन्न राजावादी संस्थाहरु जाग्नुका साथै नागरिक तहमा पनि ‘राजा आऊ देश बचाउ’ को नारा लागिरहँदा यसको असर गणतन्त्र पक्षधर नेताहरुलाई परिरहेको छ । 

नागरिक तहमा राजाले राख्न दिएको श्रीपेज खोज्ने बेला आएको भन्दै नेताहरुलाई सचेत गराइरहेको अवस्था छ । २०६५ सालमा नारायणहिटी राजदरबारबाट बाहिरिँदासमेत पूर्वराजाले श्रीपेश सुरक्षित राख्नू भनी सरकारलाई भनिएबाट पनि त्यसको आवश्यकता अब जुनसुकै बेला पर्नेतर्फ पनि संकेतहरु देखिन थालेका पाइन्छन् । 

त्यसो त यसको छनक नेताहरुले पनि पाइसकेका छन् । तर नेताहरु आफूलाई सच्याउनुको सट्टा आपसमा शक्तिका लागि कुर्सीको हानथाप गरिरहेका छन् । 

पूर्वराजाको नागरिक अभिनन्दनलाई अर्थपूर्णरुपमासमेत लिइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ