arrow

तस्करी नरोके जिम्मेवारी खोसिदिने महानिरीक्षक अर्यालको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
apf-officers-2079.jpg

काठमाडौं । मधेश प्रदेश र लुम्बिनी प्रदेशका सीमा जिल्लामा तस्करी बढेको तथा राजश्व चुहावट बढेको गुनासो आएपछि सशस्त्र प्रहरी मुख्यालयले ती क्षेत्रमा कमाण्ड गर्ने अधिकारीलाई तस्करी नरोके जिम्मेवारी खोसिदिने चेतावनी दिएको छ । 

आइतबार काठमाडौंमा बोलाएर नेपाल भारत सीमा क्षेत्रको कमाण्ड गरिरहेका अधिकृतहरुलाई तस्करी नरोके उनीहरुको जिम्मेवारी खोस्ने र वृत्ति विकासमा आउने अवसरलाई पनि कटौती गर्ने चेतावनी दिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा वरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम कार्यक्रममा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले सीमा व्यवस्थापन र राजश्व संकलनमा त्रुटि भए मूख्यालयले जिम्मेवारीविहीन बनाउने भन्दै यस्तो कडा निर्देशन दिएका छन् । 

‘संगठन सुधार र आचरणमा गम्भीर हुनुपर्छ, उपस्थितिले मात्र हुँदैन, परिणाम चाहिन्छ । नबुझे जस्तो गर्न छुट छैन परिवर्तन अपरिहार्य छ, परिवर्तन आफैँबाट शुरु गर्न जरुरी छ, त्रुटि भए मुख्यालयले जिम्मेवारी खोस्ने र जिम्मेवारीविहीन बनाउने छ । जसले गर्दा कमाण्डरको वृत्ति विकासमासमेत असर गर्नेछ,’ आईजीपी अर्यालले निर्देशनको क्रममा भनेका थिए । 

हजारौँ सदस्यहरु रहेको एउटा सिंगो संगठनलाई कुनै व्यक्ति विशेषले मात्र सुधार गर्न सम्भव नरहेको बताउँदै उनले म एक जनाले ऊर्जा दिएर के हुन्छ भन्ने मानसिकताबाट माथि उठी असम्भव के छ, भन्ने मनस्थिति बनाइ शान्ति सुरक्षा, तालिम, सीमा, विपद् उद्धार, प्रशासन, बन्दोबस्तीलगायत राज्यले निर्दिष्ट गरेका म्याण्डेटहरुमा परिचालित हुन निर्देशन दिएका थिए । 

निर्देशनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सबैको ध्यान संगठन सुधारमा केन्द्रित हुन जरुरी रहेको उल्लेख गर्दै सोच उद्देश्य र सबल पक्षलाई अझै परिस्कृत गर्दै सीमित श्रोतसाधनको अधिकतम प्रयोग गरी गुणस्तरीय कार्य गर्न सकियो भने सानो कुराबाट सुधार गर्दै ठूलो सफलता हासिल गर्न सकिने निर्देशन दिएका थिए । 

एआईजी चन्द्रप्रकाश गौतमले सशस्त्र प्रहरीलाई प्राप्त म्याण्डेटअनुसार सीमा क्षेत्रमा परिचालित हुँदा बढी चनाखो र आउन सक्ने चुनौतीको पूर्वानुमान गरी संवेदनशील भइ चुस्त र दुरुस्त ड्युटीमा परिचालन हुन निर्देशन दिएका थिए । 

अर्का एआईजी बंशीराज दाहालले सीमामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न निर्मम भई लाग्नुपर्ने बताउँदै राजश्व तथा भन्सारलाई सहयोग र अपराध नियन्त्रणमा अनुभूति हुने गरी कार्य गर्न निर्देशन दिएका थिए । 

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कार्यक्रममा सीमावर्ती अपराध नियन्त्रण, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने, अवैध निकासी पैठारी नियन्त्रणमा खेल्नुपर्ने भूमिका बारेमा प्रस्तुतीकरण गरिएको थियो । 

सो विषयमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपतिहरुद्धारा प्रस्तुतिकरण गरिएको थियो । 

सीमा क्षेत्रमा क्रियाशील र खटिएका सशस्त्र प्रहरी अधिकारीहरुलाई गम्भीर भएर कार्य गर्न निर्देशन दिँदै आजै मंगलबारबाट कार्यक्षेत्रमा फिर्ता पठाउन लागिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ