arrow

चुनाव भएको ११ महिनापछि पुनः मतगणना गर्न उच्च अदालतको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
local-level-election-2079.jpg
तस्बिर – फाइल ।

पोखरा । उच्च अदालत पोखराले गत वर्ष बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ । 

सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँधली भएकाले पुनः मतगणनाको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । 
 
सो निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले गणना बदर गरी आगामी बैशाख २० गते पुनः मतगणना गर्न आदेश गरेको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
 
गणनाको जनशक्ति व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा र स्थान तोक्नका लागि उच्च अदालतका रजिष्ट्रारलाई आदेश दिएको छ । 

यसअघि निर्वाचन आयोगले सो वडाको अन्तिम मत परिणाममा वडाध्यक्षमा विजयी तिमिल्सिनाले एक हजार छ सय ४३ र थापाले एक हजार छ सय ४० मत पाएकामा  तिमिल्सिनालाई विजयी घोषणा गरेको थियो । 

थापाले परिणाम घोषणालगत्तै पुनः गणनाको माग गरे पनि निर्वाचन आयोगले गणना अस्वीकार गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ