arrow

चितवनमा कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीका पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
congress-flag-final-final.jpg
तस्बिर – फाइल ।

चितवन । निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन् । उनीहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् । 
 
विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गर्नुभएका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गरेका हुन् । 
 
“नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिनसक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ”, जारी अपिलमा भनिएको छ ।
 
कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ, “मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ ।”
 
उनीहरुलगायत विगतको निर्वाचनमा विद्रोह गरेका प्रायःसबै पार्टीमा एकढिक्का भएका छन् । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका छन् । 
 
चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारका पक्षमा उभिएको बताएका छन् । उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनःकांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुन अपिल गरेका छन् ।
 
पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा परेका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागि परेका छन् । 
 
जिल्ला सभापति राजेश्वर खनालले यसअघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिएका अहिलेको निर्वाचनमा सबै एक ठाउँमा उभिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ