arrow

शिवदेवको प्रिय दिनमा राशिफल कस्तो रहला ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ चैत २७ सोमबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ चैत्र २७ गते सोमबार, इस्वीसंवत अप्रिल १० तारिक सन् २०२३, शालिवाहनीयशाके १९४४, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको चतुर्थी तिथि बिहानमा ०८ः२१ मिनेटसम्म त्यसउप्रान्त पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा दिनमा १ः३१ बजेसम्म त्यसश्चात् ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात योग रातिमा ८ः०९ बजेसम्म त्यसपछि वरियान योग लाग्नेछ ।

करणमा कौलव रातिमा ७ः३६ बजेसम्म त्यसपछि तैतिल लाग्नेछ । आनन्दादि योगमा मानस रहनेछ । सूर्य मीन राशिमा, चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । दिनमान ३१ घटि ३५ पला अर्थात १२ घण्टा ४० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः४७ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः२५ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा १०ः४६ बजे हुनेछ भने चन्द्रअस्त भोलि बिहान ०८ः१६ बजे हुनेछ ।

आजको राशिफल 

मेष : आज शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ ।

वृष : आज जीवनसाथी वा आत्मीय मित्रको स्वास्थ्यमा समस्या देखिने वा सम्बन्धमा तिक्तता आउन सक्ने समय देखिन्छ । साझेदारीको काम छ भने अर्कालाई नसुम्पनु ठीक हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो ।

मिथुन : आज जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।

कर्कट : आज इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । पठनपाठनमा ध्यानकेन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिंदैन । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।

सिंह : आज कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ ।

कन्या : आज कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो ।

तुला : आज धनवैभव र मानसम्मान बटुलेर सुखसुविधा जुटाउन सक्ने समय हो, तर घरभित्रका समस्यामा रुमल्लिनुपर्ने र मानसिक खिन्नता बढ्ने परिस्थिति बनेको छ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध-सम्पर्क गर्ने दिन हो ।

वृश्चिक : आज सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ ।

धनु : आज पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ ।

मकर : आज घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो ।

कुम्भ : आज लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो ।

मीन : आज लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकताप्रतिको मोह घट्न सक्छ ।

साइतः सूर्य मीन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०५ः४८ बजेदेखि      ०७ः२२ बजेसम्म     अमृत बेला
बिहान ०७ः२२ बजेदेखि      ०८ः५७ बजेसम्म     काल बेला
बिहान ०८ः५७ बजेदेखि      १०ः३१ बजेसम्म     शुभ बेला
बिहान १०ः३१ बजेदेखि       १२ः०६ बजेसम्म    रोग बेला
दिनमा १२ः०६ बजेदेखि       १ः४० बजेसम्म     उद्धेग बेला
दिनमा १ः४० बजेदेखि        ३ः१५ बजेसम्म     चर बेला
दिनमा ३ः१५ बजेदेखि        ४ः४९ बजेसम्म     लाभ बेला
साँझ ४ः४९ बजेदेखि        ६ः२३ बजेसम्म      अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ