arrow

ग्रहगोचर अनिष्टप्रद रहेको कुम्भको यो वर्ष गरिरहेको व्यवसायबाट आत्मसन्तोष 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-kumbha-aquarious.jpg

काठमाडौं । यो वर्ष तपाईका ग्रहगोचर अनिष्टप्रद छन् । संघर्षको स्थिति हुनेछ । शनिको मध्य साढ़ेसाती दशा हुनाले त्यत्ति राम्रो समय देखिँदैन । पुत्र कलत्रादिबाट असन्तोष चौपायबाट हानि, नोक्सानी, मिथ्यापवाद, अनावश्यक व्यय, शत्रु सामना गर्नुपर्ने अनावश्यक डर त्रासले मनमा भयको प्रकोप हुनेछ । 

अवाञ्छित पारिवारिक झमेला र तनावको सामना गर्नुपर्नेछ । तेस्रो गुरु पनि त्यत्ति अनुकुल छैन । जसका कारण स्वास्थ्य बाधा, व्यर्थ विवाद र पारिवारिक झमेला आइपर्ला । धार्मिक क्षेत्रमा पनि त्यत्ति मन जानेछैन ।

गरिरहेको व्यवसाय वा कार्यमा दत्तचित्त भई लाग्ने हो भने त्यसैमा केही सफलता मिल्न सक्नेछ । त्यसैले आत्मसन्तोष दिने छ । वैतनिक र व्यापारिक कार्य मध्यम, न्याय र वैदेशिक मामला आंशिक रहनेछ । सहकर्मीबाट तनाव हुन सक्नेछ । त्यसैले सामञ्जस्य मिलाउनु राम्रो हुनेछ । 

यसैगरी बृहस्पति तथा शनिको गोचरका साथै मध्यसाढेसातीको प्रभाव यो वर्ष खर्चको मात्रा बढ्ने, मानसिक तनाव तथा स्वास्थ्यसम्बन्धी समस्या हुने, डर त्रासले चिन्ता, आर्थिक अवस्था कमजोर हुन सक्ने र पढाईमा मन नलाग्ने समय देखिन्छ ।

स्वास्थ्यः बृहस्पतिको तेश्रो राशिको गोचर र शनि ग्रहको प्रथम गोचरको प्रभावले यो वर्ष तपाईको शरीरमा आलस्यता आउने, नसा सुन्निने, पेट दुख्ने, चिसोबाट समस्या हुन सक्ने सम्भावना रहेकाले सतर्क रहनुपर्ने समय छ । यो समयमा दाजुभाइ तथा पत्नीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय देखिन्छ । 

व्यापार, व्यवसाय र आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष सामान्य देखिन्छ । बृहस्पति तथा शनिको गोचरको प्रभावले हरेक क्षेत्रका व्यवसाय यो वर्ष सामान्य नै रहन सक्नेछन् । सामाजिक तथा परोपकारका काममा धेरै समय बित्नेछ । नोकरी र वैदेशिक क्षेत्रको काममा लागेका व्यक्तिहरुले केहि ढिलासुस्ती र समस्याका बाबजुद प्रशस्तै लाभ लिन सक्नेछन् । पशुपालन र जग्गाजमीन सम्बन्धी कारोबारबाट मध्यम लाभ मिल्नेछ । आयआर्जन तथा नयाँ लगानीको क्षेत्र यो वर्ष सामान्य देखिन्छ ।

पेशा, रोजगार र शिक्षाः प्राविधिक तथा वैदेशिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले लाभ लिन सक्ने समय छ । पर्यटन तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले पनि सफलता प्राप्त गर्ने समय छ । प्राविधिक विषय पढ्ने विद्यार्थीले थोरै मेहनतमा राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने शिक्षा क्षेत्रका विद्यार्थीको लागि समय सामान्य देखिन्छ । 

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य रहन सक्छ । शनिको गोचरका कारण एकापसमा अविश्वास हुन सक्ने रहेकाले प्रेममा रहेका व्यक्तिहरुले ध्यान दिनुपर्ने देखिन्छ । वैवाहिक जीवनमा केहि समस्याका बाबजुत सम्बन्ध राम्रो रहन सक्छ भने अन्य पारिवारिक सम्बन्धको लागि पनि समय मध्यम देखिन्छ ।

शुभ रंग र अङ्कः कुम्भ राशिका लागि यो वर्ष खैरो, सेतो तथा रातो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु  १, ३, ७, ८ रहेका छन् । 

उपायः कुम्भ राशिका व्यक्तिहरुले बृहस्पति तथा शनिको ग्रह शान्ति पुजा गर्दा राम्रो हुन्छ । बिहीबारको दिन पहेंलो कपडा दान गर्दा, विष्णु भगवानको दर्शन तथा पूजा गर्दा र शनिबार शनिदेवको दर्शन गर्दा पनि कल्याण हुन सक्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ