arrow

यो महिना ग्रहगोचर उत्तम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
monthly-horoscope.jpg

यस महिनामा ग्रहगोचर साधारणतया उत्तम छन् । शुक्रबारको संक्रान्ति तथा बिहीबार अमावाश्यको योगले अन्नादि खाद्यपदार्थ र सागसब्जी लगायत दैनिक उपभोग्य वस्तुमा सहजता र मूल्य वृद्धिमा केही अंकुश लाग्ने संकेत गर्दछ । 

देशको वस्तुस्थितिमा केही सकारात्मक संकेतले जनतामा प्रशन्नता छाउला । मेषको सूर्यले कपास, सुन, तामा, चाँदी, तेल, लौहधातु, सूतीवस्त्र तथा अन्य सेवा वस्तुहरु महँगो गराउनेछ । 

कुम्भ राशिको शनि आय स्थानमा रहनाले आन्तरिक आयआर्जनमा वृद्धि गराउने देखिन्छ । केही नवीन कार्यारम्भ पनि हुन पनि सक्नेछ । पुँस्त्री योगबाट १, १२, १५, १६, २२, २४, २५ गते मेघबादल योग देखिन्छ । यस महिनामा सन्तु जल (शर्वत आदि), पंखा, छाता, धर्मघट, उपानह (जुत्ता, चप्पल) आदिको दान, विश्रामस्थलको निर्माण उचित हुनेछ ।

मासिक राशिफल
मेषः यो महिना सूर्यको गोचर तपाईंको राशिमा अर्थात् लग्नमा हुनेछ । यो महिना तपाईले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । 

तपाई सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाई भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा वृद्धि हुनेछ । 

पदोन्नति वा स्तरवृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ जसले तपाईमा अहंकार को भावना पनि विकसित हुनसक्छ । 

स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ । यसैगरी नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । 

आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । कसै कसैका लागि सन्तान सुखको योग पनि छ । यो महिनाका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृषः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा  रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ।  यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । 

छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त हुनसक्छ भने शत्रुहरूमाथि प्रभुत्व जमाउन सक्ने सम्भावना छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ । 

यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिन सक्छ । पारिवारिक तथा प्रेम जीवनमा पनि केहि असमझदारी तथा झगडाहरुको सम्भावना रहेकाले मिलेर समझदारीमा रहनुपर्छ । यसैगरी अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । 

पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । महिनाका मध्यबाट काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आर्थिक पक्ष सबल नै रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । यो महिनाका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुनः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट एघारौँ भावमा हुनेछ। तपाईंका लागि यो समय राम्रो रहन सक्छ । यो समयमा तपाईंको आम्दानी बढ्न सक्छ । कार्यालयमा उच्च तहका कर्मचारीले सहयोग र समर्थन गर्नेछन्। तपाईंले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । 

हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ वृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता को तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । 

स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । यस समयमा गरिएका कारोबारहरू सफल हुनेछन् । पारिवारिक जीवन पनि राम्रो रहन सक्छ र परिवारको साथसहयोग मिल्न सक्छ। आय आर्जनका मार्गमा सुधार आउने छ । यसैगरी बैशाख महिनामा गरेको कार्यमा सफलता नै पाइनेछ । 

परिवारजनको सहयोगले गर्दा कमबाट फाइदा लिन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ । यो महिनाका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कटः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट दशम भावमा हुनेछ । यो समय तपाईंको लागि राम्रो रहन सक्छ। व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । 

व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरु पनि यो समयमा पूरा हुन सक्छन् । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ। मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । 

यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ । यसैगरी यो महिनामा प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । २० गतेबाट स्वास्थ्यको ख्याल गर्नुहोला । 

साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । यो महिनाका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंहः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । 

यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । 

धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ ।दैनिक खर्चमा वृद्धि हुन सक्छ । यसैगरी सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । प्रतिस्पर्धी परास्त होलान् । व्यापार व्यवसायमा श्रीः वृद्धि हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । यो महिनाका लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कन्याः यो महिना सूर्यको गोचर तपाईको राशिबाट अष्टम भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । 

व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन्। त्यस्तै व्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । 

यसैगरी शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । बोलीको विपरीत अर्थ लाग्न पनि सक्छ । १८ गतेबाट अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ । राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि छ । यो महिनाका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

तुलाः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट सप्तम भावमा हुनेछ । सप्तम भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । 

प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो समयमा कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले सानातिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन् । 

विद्यार्थीले उचित मेहनत गर्दा सफलता प्राप्त गर्न सक्छन् । यसैगरी याँ काम प्रारम्भ गर्ने मौका छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । न्यायिक कार्य तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ । 

छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग पनि छ । यो महिनाका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिकः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट छैठौं भावमा हुनेछ। यो महिना तपाईंको लागि फाइदाजनक रहन सक्छ। यो समयमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउन सक्ने सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने समस्या समाधान हुनसक्छ । 

नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । 

तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । यसैगरी जागीरमा स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । 

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । सामूहिक भ्रमणको योग पनि छ । शुभ कार्यको चर्चा समेत चल्नेछ । यो महिनाका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवताको आरधना गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

धनुः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट पञ्चम भावमा हुनेछ। यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । 

सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । यस अवधिमा विद्यार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडी परिनेछ । 

पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ ।स्वास्थ्य पनि उचित ध्यान दिनु आवश्यक छ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम प्रसंगका लागि यो त्यत्ति राम्रो महिना देखिंदैन । 

प्रेम जीवनमा उतारचढाव आउनेछ। आफ्नो सम्बन्ध प्रति जिम्मेवार बन्नु आवश्यक छ । यसैगरी खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । 

नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यवसायका लागि यात्रा सम्भावना छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । यो महिनाका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको स्मरण गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकरः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ। आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने महिना हुनेछ । 

आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा प्रभावले मानसिक चिन्ता बढ्न सक्नेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन सक्छ । 

खासगरी पिता वा कार्यक्षेत्रमा उच्च अधिकारीसँग मनमुटाव हुन सक्छ। पेटसम्बन्धी समस्या स्वास्थ्यमा आउन सक्छ। प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । यसैगरी नयाँ योजनाहरू कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफन्त व्यक्तिले काम बिगारिदिने सम्भावना बलियो रहेको छ । 

महिनाका उत्तरार्धबाट भने धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ । मन पर्ने वस्त्र, अलंकार उपहार आदि पाइने योग छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । प्रेम सम्बन्धमा मधुरता पनि छाउनेछ । यो महिनाका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कुम्भः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट तृतीय भावमा हुनेछ। यस गोचरको प्रभावले तपाईंमा आत्मबल तथा हिम्मत बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । यात्राहरु फलदायी रहन सक्छन् । पारिवारिक जीवन सुखद रहनेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन र दिन सकिनेछ । 

व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । पारिवारिक तथा प्रेम जीवन सामान्य रहन सक्छ। तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । 

लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यसैगरी कला र गलाको प्रभाव बढ्दै जानेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । अतिथिको रूपमा सत्कार पाइनेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । 

सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । यो महिनाका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मीनः यो महिना सूर्यको गोचर तपाईंको राशिबाट दोश्रो भावमा हुनेछ । कार्यक्षेत्रमा सफलता प्राप्त हुन सक्छ भने सामाजिक क्षेत्रमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । 

दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले विद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नेछन । यो महिना प्रेम जीवन र दाम्पत्य सम्बन्धमा उतारचढावका सम्भावना देखिन्छन् । व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । 

यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले यो कुरामा ध्यान दिनु आवश्यक छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ सचेत रहनु उत्तम हुनेछ । यसैगरी बोलीको भरमा कार्य सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । 

जोशजाँगर र हिम्मत बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो महिनाका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हल्का पहेँलो वा आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ