arrow

नवनिर्वाचित अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
chandra-prasad-dhakal-fncci-president-2023.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार बिहान महासङ्घको अध्यक्षको रूपमा पदभार ग्रहण गरेका छन्। ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारण सभाबाट महासङ्घको २०औँ अध्यक्षमा निर्वाचित भएका हुन्।

ढकाल महासङ्घको विधानअनुसार यही चैत्र २८ र २९ गते आयोजित ५७औँ वार्षिक साधारण सभाबाट स्वतः अध्यक्ष बनेका हुन्। महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने गर्छ। बिहीबार सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमितिको चयन भएसँगै सोही दिन ढकालले अध्यक्षको शपथ लिएका थिए।

आज बिहान महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा पाँच वटा विषयमा केन्द्रित  रही काम गर्ने बताए।  

पहिलो– वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्ने, दोस्रो– लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, र, पाँचौँ–राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकता साथ कार्यान्वयनमा लैजाने दृढताका साथ महासङ्घ अघि बढ्ने ढकालको भनाइ छ।

महासङ्घको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने तथा नेपाली उद्यमी व्यवसायीहरूलाई लगानी प्रवर्द्धनका कार्यक्रम लिएर महासङ्घले विशेष अभियान सञ्चालन गर्नेमा पनि अध्यक्ष ढकालले जोड दिएका छन्।

अध्यक्ष ढकालले सबै जना उद्योगी व्यवसायी साथीहरूको आशा र भरोसाको संवाहक बनेर  महासङ्घले काम अघि बढाउने प्रतिबद्धता पनि  व्यक्त गरे। महासङ्घलाई ठूला, साना र मझौला सबै उद्योगी, व्यवसायीको साझा चौतारीका रूपमा स्थापित गर्न आफ्नो प्रयास रहने अध्यक्ष ढकालले उल्लेख गरे।

जिल्ला नगर तथा  वस्तुगत उद्योग वाणिज्य सङ्घहरूलाई आगामी दिनमा थप सशक्त बनाउने प्राथमिकताको रहेको पनि ढकालले उल्लेख गरे।

उद्योग व्यवसाय तथा लगानीसँग प्रत्यक्ष जोडिने आर्थिक विषयसँग सम्बन्धित ऐन नियमहरू संशोधन गर्दा वा नयाँ नीति तथा कानून तर्जुमा गर्दा सरकार र नीति निर्माणकर्ताहरू सँग सघन सहकार्यका लागि समेत आफूले पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ