arrow

बालबालिकाको दिवा खाजा कार्यक्रम फलदायी: मन्त्री शर्मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
rekha sharma.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बालबालिकाको सबल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेकी छिन् । ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट­ नेपाल’ ले आज थहिँटीस्थित शान्ति शिक्षा माध्यामिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उनले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताइन् ।

“स्वास्थ्य राम्रो नभई राम्रो शिक्षा प्राप्त गर्न सकिँदैन”, उनले भनिन्, “राम्रो स्वास्थ्य प्राप्त गर्नका निम्ति यस्ता कार्यक्रम उपलब्धिमुलक हुनेछ ।” सामुदायिक दिवा खाजा कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने उनको भनाइ थियो । उनले दिवा खाजा विस्तार गर्ने योजनामा चीन सरकारले पुर्याएको योगदानले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा महत्वपूर्ण सहयोग भएको बताइन् ।

सरकारले कर्णाली प्रदेशबाट सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरेको थियो । सरकारले विगत तीन वर्षदेखि पूर्वप्राथमिकदेखि तीन कक्षासम्म र चालु आवदेखि कक्षा छ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिदिन प्रतिविद्यार्थी रु १५ का दरले विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम गरिरहेको छ ।

नेपालको सूचना प्रविधिको क्षेत्रमा चीनले ठूलो योगदान दिएको उल्लेख गर्दै उनले सूचना प्रविधिको पहुँच र गुणस्तर बढाउने कार्यक्रमा चीनले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । नेपाल र चीन घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै उनले दुई देशबीच गहिरो सम्बन्ध रहिआएको बताइन् । चीनले नेपाललाई जुनसुकै अप्ठ्यारो अवस्थामा सहयोग गर्दै आएको उनको भनाइ थियो ।

नेपालका लागि चीनका राजदूत चेन सोङले कोरोना महामारी तथा विभिन्न प्रकोपमा चीनले नेपाललाई सहयोग गर्दै आएको बताए । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सो संस्थाले कामपाका विभिन्न सामुदायिक विद्यालयमा शैक्षिक झोला, सरसफाइ सामग्री र न्यायो कपडा वितरण गर्दै आएको बताए । कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले उपलब्ध गराउँदै आएको रकममा कामपाले प्रति विद्यार्थी १० रुपैयाँ थप गरी चालु वर्षदेखि कक्षा आठसम्म खाजा खुवाउने कार्यक्रम शुरु गरेको बताए ।

विकासोन्मुख देशमा गरिब पृष्ठभूमिका प्राथमिकस्तरका बालबालिकाले सामना गर्ने भोकमरीको समस्यालाई सम्बोधन गर्ने लक्ष्यका साथ फाउण्डेसनले एक वर्षदेखि विभिन्न सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा सहयोग गर्दै आएको छ ।

सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण, सीप तथा सामुदायिक विकासमा सहयोग गर्दै आएको छ । काठमाडौँ महानगर भित्रका १० र सामुदायिक विद्यालयमा फाउण्डेसनको सहयोगमा दिवा खाजा  कार्यक्रम लागू भएको छ ।

यी विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पोषणयुक्त खाजाका साथै एक सय ५० मिलिटिर दूध पाउँदै आएका छन् । पोषणयुक्त दिवा खाजा कार्यक्रमले बालबालिको स्वभाव, शारीरिक विकास र अध्ययनमा पनि महत्वपूर्ण सहयोग मिलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ