arrow

गुणस्तरहीन क्याप्सुल पुगेपछि बाँकेमा भिटामिन ‘ए’ कार्यक्रम स्थगित, ९० हजार बालबालिका बञ्चित 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख ६ बुधबार
vitamin-a-date-expired.jpg

नेपालगन्ज । आजदेखि देशभर पाँच वर्षसम्मका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ए खुवाइँदै गरिए पनि बाँकेमा भने यो कार्यक्रम अन्योलमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ए  खुवाउनका लागि राष्ट्रिय भिटामिन ए अभियान सन्चालन गरेको छ। 

तर  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ  बाँकेमा भिटामिन ‘ए’ अभियान स्थगित गरेको हो । यसले गर्दा बाँकेका करिब ९० हजार बालबालिका भिटामिन ए खानबाट बञ्चित भएको नेपालगन्ज उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक एवं स्वास्थ्य महाशाखा निमित्त प्रमुख जागेश्वर बस्नेतले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले आठ वटै स्थानीय तहमा भिटामिन ए पठाइसकेको थियो । सम्बन्धित पालिकाले भिटामिन ‘ए’ खुवाउन महिला स्वास्थ्य स्वयंसेविकालाई वितरणसमेत गरिसकेका थिए । 

बाँकेमा ७ सय ८१ महिला स्वास्थ्य स्वयंसेविका छन् । बाँकेमा ८० हजार बढी  भिटामिन ए क्याप्सुल प्रदेश स्वास्थ्य मन्त्रालयबाट प्राप्त भई पालिकाहरुमा वितरण भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले पनि नहेरी वितरण गरेर गम्भीर लापरबाही गरेको छ। ८० हजार बढी क्याप्सुल वितरण गर्दा पनि एक पटक भिटामिन क्याप्सुलबारे अध्ययन र अनुगमन नगरी वितरण गर्नु ठूलो लापरबाही हो । क्याप्सुलको प्रयोग मितिसमेत निकै कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यसमा स्वास्थ्य कार्यालय मुकदर्शक बनेको देखिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्य कार्यालयलाई भिटामिन ए अभियान स्थगित गर्न परिपत्र आएपनि स्वास्थ्य कार्यालयले स्थानीय तहलाई जानकारी नगराएको पाइएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभियान स्थगित गरिएको सम्बन्धमा सामाजिक सञ्जालबाट जानकारी पाएपनि स्वास्थ्य कार्यालयले कुनै परिपत्र वा मौखिक जानकारी नगराएको बताएको छ । निमित्त प्रमुख  बस्नेतले यसबारे स्वास्थ्य कार्यालयले कुनै जानकारी नगराए पनि प्रदेश स्वास्थ्य निर्देशनालयको परिपत्रका आधारमा भिटामिन ए नखुवाइने बताए ।  

भिटामिन ए को क्याप्सुलको रंग परिवर्तन भएको रिपोर्टिङ स्थानीय तहले गरेकाले तत्काल वितरण नगर्न रोक लगाइएको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य आपूर्ति केन्द्रको गम्भीर लापरबाहीका कारण बाँकेमा राष्ट्रिय भिटामिन ‘ए’ अभियान प्रभावित भएको हो । ‘समयमै भिटामिन ‘ए’ क्याप्सुल गुणस्तरहीन भएको जानकारी प्राप्त भएकाले एउटा दुर्घटना टर्यो’,एक जना स्वास्थ्यकर्मी भन्छन्, ‘गुणस्तरहीन भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदा बालबालिकाको स्वास्थ्यमा अर्को समस्या पर्न सक्थ्यो । धन्नजोगियो ।’

बाँकेमा पनि आज र भोलि खुवाइने राष्ट्रिय भिटामिन ‘ए’ अभियानको तयारी पूरा भइसकेको थियो । स्वास्थ्य कार्यालयले स्वयंसेविकाको हातहातमा पारेको भिटामिन ‘ए’ क्याप्सुल फिर्ता गर्न आन्तरिक सर्कुलर जारी गरेको छ। 

आपूर्ति केन्द्रको गम्भीर लापर्वाहीले अभियानका लागि गरिएको तयारी विफल भएको छ भने अर्कोतर्फ राज्यलाई अनावश्यक आर्थिक व्ययभार थपिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ