arrow

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । 
    
महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न रु ९९ करोड रकम विनियोजन भएको थियो । यस्तै तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि रु ४९ करोड रकम विनियोजन भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । 

उनका अनुसार हाल देवीटार–गोकुले करिब सात किलोमिटर सडकलाई रु ४८ करोड रकमको स्रोत सुनिश्चित भएको छ । निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमितकार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताए । “निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गरेपछि समयमा काम सम्पन्न नहुने हुँदा योजना लम्बिने देखिन्छ, हामी ताकेता गरिरहेका छौँ”, उनले भने ।

 उनका अनुसार रु ९९ करोडको बजेटमा रु ६२ करोडमा सम्झौता भएको छ भने रु ४९ करोडको बजेटको सडकमा रु २४ करोडमा सम्झौता भएको छ । ती सडकको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदासमेत समयमै निर्माणकार्य सम्पन्न नभएपछि हालै गाउँपालिकाको समन्वयमा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयलेसमेत चासो दिएको छ । 

तीनखुट्टेदेखि देविटारसम्मको ८ दशमलव ७ किलोमिटर पक्की सडक निर्माणकार्य अलपत्र भएपछि गाउँपालिकाले पटक–पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्न गराउन पत्र लेख्दै आएको जिम्वाले बताए । 
    
यसैबीच, प्रदेश मन्त्रालयले आगामी आर्थिक वर्षबाटनै काम सुरु गर्ने गरी काभ्रेपलाञ्चोक र प्रदेश राजधानी मकवानपुर जोड्नेगरी ‘जनमुक्ति’ मार्ग निर्माण गर्न तयारी थालेको जनाइएको छ । मन्त्री युवराज दुलालले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अन्तर्गत मङ्गलटारस्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरेस्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिने बताउनुभएको छ । मन्त्री दुलालका अनुसार उक्त मार्गका लागि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ । उक्त सडकको लम्बाई ९३ किलोमिटर हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ