arrow

एसीसी प्रिमियर लिगः यूएई र ओमान विजयी, नेपाल शीर्षमै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
arvind-mustafa-uae.jpg

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएई र ओमान विजयी भएका छन् । कीर्तिपुर मैदानमा भएको खेलमा यूएईले कुवेतलाई १४३ रनले हरायो । बुधबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रन बनायो । 

रोहन मुस्ताफा र वृत्य अरविन्दले शतक बनाए । अरविन्दले १४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १८५ रन बनाए । मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्काको मद्धतले ११८ रन बनाए । ४.४ ओभरमा २४ रन बनाउँदा ३ विकेट गुमाइसकेको यूएईका लागि अरविन्द र मुस्तफाले चौथो विकेटका लागि २७५ रनको विशाल साझेदारी गरेका थिए । 

जवाफमा कुवेतले ३६.३ ओभरमा अलआउट हुँदै २२८ रन बनायो । सायद मोनिबले ३६ बलमा ६८ तथा परविन्दर कुमारले २६ बलमा ५३ रन बनाएको इनिङ्समा जुनैद सिद्धिकी र कार्तिक माइयाप्पनले ३–३ विकेट लिए । 

अर्को खेलमा ओमानले कतारलाई ४० रनले हरायो । पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा २४९ रन बनायो । जवाफमा कतारले ४७.२ ओभरमा अलआउट हुँदै २०९ रनमात्र बनाउन सक्यो । 

यो खेलपछि समूह ए बाट मलेसियालाई हराएको नेपाल २ अंकसहित शीर्ष स्थानमा छ भने ओमान २ अंकबाटै दोस्रो स्थानमा छ । 

त्यस्तै समूह बी मा यूएई र हङकङको २–२ अंक भएको छ । 

बैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मूलपानीमा संचालन भइरहेका छन् । 

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । 

समूह बी मा सिंगापुर, हङकङ, यूएई, कुवेत र बहराइन रहेका छन् । 

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ ।

फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा यो प्रिमियर कप जित्ने टिमले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउने छ । 

शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ