- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरमा पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर केसीले बताए ।
विगत नौ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उत्र्तीण केशव चोखालले खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किङ कोब्रा’ भएको पुष्टी गरेका छन् । उनका अनुसार २०७६ जेठमा पनि घतानकै कोशीपानीको जङ्गलमा उनले सोही प्रकारको कोब्रा फेला पारेका थिए ।
नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताए । उनका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ । नेपालीमा राजनाग, कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपिओपगुस हन्नह’ हो ।
यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने अध्येता चोखालको भनाइ छ । यो अत्यन्त विषालु प्रजातिको कोब्रा भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको उनले बताए ।
यो कोब्रालाई नचलाउने ,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने अध्येता चोखालको भनाइ छ । म्याग्दीमा २०७६ मा भेटिएको सो नाग ‘किङ कोब्रा’ अर्थात् नै भएको किङ कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए ।
अहिले पनि सोही कोब्रा पुनः खड्काको घरमा भेटिएको प्राणी शास्त्रका जानकार चोखालले बताए । उनका अनुसार नेपालमा पाइने ८२ प्रजातीका सर्पमध्ये किङ कोब्राको स्ङ्ख्या अत्यन्त न्यून रहेको छ ।
यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ । थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातीमा रहेको उनले जानकारी दिए । उनका अनुसार यसले आहाराको रुपमा अन्य सर्पलाई नै खाने गर्दछ ।
कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनको भनाइ छ । यसलाई विश्व संरक्षण सङ्घको रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको जनाइएको छ ।
त्यसैगरी नेपालको कानुनले पनि संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । उनका अनुसार यो सर्प विश्वव्यापिरुपमा नै अति कमलाई मात्र जानकारी भएको सर्प हो ।