कर्मचारी सङ्गठनहरूका भवनहरू तीन दिनभित्र खाली गर्न सरकारको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
268
Shares
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी सङ्गठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचनाहरू तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार सम्बन्धित सङ्गठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आफूले प्रयोग गरिरहेका भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गर्नुपर्नेछ। साथै, ती कार्यालयमा रहेका कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो समेत मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिइएको छ।
सरकारले हालै 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३' मार्फत निजामती सेवा ऐन, २०४९ अन्तर्गत रहेको निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था पूर्ण रूपमा खारेज गरिसकेको छ। सोही कानुनी व्यवस्थाको कार्यान्वयनका लागि मन्त्रालयले यो कदम चालेको हो।
तोकिएको समयभित्र सरकारी संरचना खाली नगरिए प्रचलित कानुनबमोजिम कडा कारबाही र आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी समेत मन्त्रालयले दिएको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालयको रोहवरमा ती सङ्गठनका कार्यालय भवनहरूमा समेत सूचना टाँस गरिसकिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको यो निर्णयसँगै स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल, नेपाल स्वास्थ्यकर्मी सङ्घ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायतका सङ्गठनहरूले वर्षौँदेखि प्रयोग गर्दै आएका सरकारी संरचनाहरू खाली गर्नुपर्ने भएको छ।