arrow

बारा २ अन्तिम रस्साकस्सी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
bara-2-election-2080-01-07.jpg

काठमाडौं । उपनिर्वाचनको लागि बारामा दलहरुबीच अन्तिम रस्साकस्सी भएको छ । बैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ मा चुनाव प्रचारप्रसारको अन्तिम दिन मुख्य दलहरुबीच रस्साकस्सी चलेको हो । बारामा प्रायः सबैदलले आफ्नो शक्ति प्रर्दशन गरेका छन् । 

शक्ति प्रदर्शनमा आ–आफ्नो उम्मेदवारको जित निश्चित भएको दाबी गर्दै नेताहरुले आफ्नो उम्मेदवारलाई जिताउन आग्रह गरे पनि बारामा गठबन्धन दलकै पल्लाभारी रहेको दाबी गर्दै अन्तिम दिन गठबन्धन दलले शक्ति प्रर्दशन गरे । 

बाराको महागढीमाई नगरपालिकाको महागढीमाई मन्दिर परिसरमा बृहत् आमसभाको आयोजन गर्दै पाँच दलीय गठबन्धनले चुनावी शक्ति प्रदर्शन गरेको हो । 

आम सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका नेताले आफ्ना साझा उम्मेदवार जसपाका उपेन्द्र यादवलाई जिताउन आग्रह गरेका छन् । 

गठबन्धन दलका घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र लोसपाले संयुक्त रुपमा बृहत् आम सभाको आयोजना गरी बारा क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवको चुनाव चिन्ह छाता छापमा मतदान गर्न नेता कार्यकर्तालाई अपिल गरेका हुन् । 

सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादवको खाँचो देशलाई रहेकोले आफ्नो भागमा परेको उपराष्ट्रपति पद जसपालाई दिएर बारा क्षेत्र नम्बर २ बाट निर्वाचित राम सहाय यादवलाई उपराष्ट्रपति पदमा निर्वाचित गराई उपनिर्वाचनमा उपेन्द्र यादवलाई जिताउन आग्रह गरेका थिए । 

प्रधानमन्त्री दाहालले देशको सदनमा उपेन्द्र यादवको आवश्यकता रहेकोले यादवलाई आफ्नै प्रस्तावमा बाराको उपनिर्वाचनमा उठाएको पनि बताएका थिए । कार्यक्रममा दोस्रो वक्ता नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको नेतृत्व गर्ने एक मात्रै नेता भएकाले उनी जस्ता सच्चा नेतालाई यस पटक अनिवार्य रुपमा जिताएर सदनमा पठाउन नेता कार्यकर्तालाई आग्रह गरे । 

यस्तै सोही कार्यक्रममा नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बज्जिका एवं भोजपुरी भाषामै सभालाई सम्बोधन गर्दै उपेन्द्र मधेश मात्रै होइन देशको नेता रहेकाले उनलाई यो पटक अनिवार्य रुपमा जिताएर सदनमा पठाउन आग्रह गरेका थिए । 

आम सभालाई सम्बोधन गर्दै जसपाका अध्यक्ष एव बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले बारा जिल्ला अति पिछडिएको जिल्लाको रुपमा रहेकोले यसको समग्र विकासप्रति आफू गम्भीर रहेको बताउँदै लामो समयदेखि रोकी राखेको अन्तर्राष्ट्रिय निजगढ विमान स्थल तत्काल चालु गर्न प्रधानमन्त्री मन्त्रीलाई आग्रह गरेका थिए । 

चुनाव प्रचार प्रसारको अन्तिम दिन बाराका विभिन्न ठाउँमा नेकपा एमाले, जनमत तथा आम जनता पार्टी (आजपा) का वरिष्ठ नेताहरुले बृहत् आमसभा गर्दै आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । 

बारा २ मा बिहीबार दिनभर चुनावी कार्यक्रम भएको थियो । निर्वाचनका लागि बारामा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, सचिव रघुवीर महासेठ, ज्वाला साह खटिएका छन् । 

उता जनमत पार्टीको तर्फबाट सिके राउत आफैँ खटिएका छन् । त्यस्तै रमेश खरेल पनि बारामा चुनावी प्रचारलाई तीव्रता दिइरहेका छन् । 

बिहीबार मध्यरातदेखि चुनाव प्रचारको क्रम रोकिने हुनाले सबै दलले चुनावी सभा गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ