arrow

तनहुँको कांग्रेसी विरासत जोगाउन गठबन्धन सहयोगी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
tanahu1-gathabandhan.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ मा उपनिर्वाचनको लागि दलहरुबीच मतदाता आफ्नो पक्षमा तान्न अन्तिम कसरत भएको छ । 

नेपाली कांग्रेसबाट शालीन र भद्र तथा बौद्धिक नेता गोविन्द भट्टराईले मतदाताहरुलाई आफूलाई मत दिन अपील गरेका छन् । तनहुँ १ मा पार्टी केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भट्टराईलाई उम्मेदवार बनाएको कांग्रेस निर्वाचन परिणाम आफ्नो पक्षमा पारेर लामो बिरासत जोगाउन जोडतोडले लागेको छ । 

कांग्रेसका शीर्ष नेताहरुले तनहुँ १ लाई आफ्नो प्रतिष्ठा पनि बनाएका छन् । २०४६ सालपछि मुलुकमा भएका निर्वाचनमा २०७४ बाहेक सबैमा तनहुँ १ मा कांग्रेस विजयी भएको छ । 

सत्ता गठबन्धन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलको समर्थन पाएका भट्टराईका लागि केही समयअघिसम्म कांग्रेस राजनीतिमा रहेका स्वर्णिम वाग्ले र कांग्रेसकै विरासतमा हुर्केका सर्वेन्द्र खनाल चुनौती बनेपछि कांग्रेसका लागि चुनौती बनेको हो । 

कांग्रेसबाट राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष भएका वाग्ले अवसर नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा पसेर उम्मेदवार बनेका हुन् । वाग्ले तनहुँबाहिरका हुन् । 

उनी पर्यटक उम्मेदवार भएकाले उनका लागि अप्ठेरो भए पनि अहिलेको अवस्थामा वाग्लेले कांग्रेसलाई नै चुनौती दिइरहेका छन् । खनाल एमालेका उम्मेदवार भएकाले उनी पार्टीको मत जोगाउन लागिपरेका छन् । पूर्वप्रहरी महानिरीक्षक खनाल मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार थिए । उनलाई एमालेले पटक पटक अवसर दिएको हो । 

मंसिर ४ गतेको चुनावमा जोशीको पक्षमा लागेका नेताहरू अहिले पौडेल र जोशीबीचको विवादलाई आधार बनाएर पार्टीका उम्मेदवारलाई हराउन नहुने भन्दै भट्टराईको पक्षमा खुल्न थालेका छन् । 

कांग्रेस नेताहरू ग्रामीण र सहरी क्षेत्रका महिला मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएको भन्दै आफ्नो मत जोगाउन सक्रिय छन् ।  बुधबार सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ पुगेर त्यहाँको विकास निर्माणमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धतासहित भट्टराईको पक्षमा मत मागेका थिए । 

मंसिरमा वर्तमान राष्ट्रपति पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले २ हजार ४ सय ८४ मत पाएका थिए । राप्रपा अहिले पनि चुनावी प्रतिस्पर्धामा छ । 

कांग्रेसका नेताहरुको चासो र चिन्ताको विषय भएकाले तनहु १ लाई केन्द्रीय तहमा चर्चाको शिखरमा रहेको छ । यतिबेला कांग्रेसले जोशी समूहको कारबाही फुक्का गरिदिएकाले पनि भट्टराई जित निकाल्न सहज हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ