arrow

कुशल मल्लको संकट उद्दारक तीव्र गतिको अर्धशतक   

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
kushal-malla-odi-fifty.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा आयोजना भइरहेको एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले अहिले ओमानसँग खेलिरहेको छ । कीर्तिपुर मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

तर नेपालले कमजोर शुरुआत गरेको छ । नेपालले रनको खाता खोल्नुअघि नै शुरुआती दुई विकेट गुमाउन पुग्यो । नेपालका लागि कुशल भुर्तेल ८ बल र आसिफ शेखले १० बल खेलेर रन नबनाइ आउट भए । नेपालले ४.४ ओभर अर्थात् २८ बलमा पहिलो रन बनाएको थियो । 

तर त्यसपछि आएका भीम सार्की र कप्तान रोहित पौडेलले भने आकर्षक खेले । दुवैले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । सो क्रममा रोहित २३ तथा भीम ३३ रन बनाएर आउट भए । ७२ रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि आरिफ शेख र कुशल मल्लले सम्हालेका छन् । 

कुशलले शानदार अर्धशतक खेलेर नेपालको संकटलाई टारेका मात्र छैनन् मिडिल अर्डर ब्याट्सम्यानले पनि नेपाललाई सही दिशामा लैजान सक्छन् भन्ने देखाएका छन् । उनले ३० बलमा ५० रन बनाएका छन् ।  

ओमानविरुद्ध खेलिरहँदा नेपालले आफ्नो ५० औं एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) खेलको कोशेढुङ्गा पनि पूरा गरेको छ । 

एसीसी प्रिमियर लिगको अर्को खेलमा मूलपानी क्रिकेट मैदानमा हङकङ र यूएई खेलिरहेका छन् । यूएईले पहिले फिल्डिङ गरेको छ ।  

मौसम भने खासै अनुकूल देखिएको छैन । मुलुकका ४०० भन्दा बढी स्थानमा लागेको र वायु प्रदूषणका कारण मौसम अस्तव्यस्त भएको छ । वर्षा पनि हुन सकिरहेको छैन । 

नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ । सन् २०१८ मार्च १५ मा एक दिवसीय मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडीआई खेलेको छ ।

जारी प्रतियोगितामा एउटै समूहमा रहेका नेपाल र ओमान ओडीआई मान्यता देश हुन् । त्यसैले यो खेल ओडीआई मान्यता प्राप्त हुनेछ । यसबाट एक दिवसीय वरीयता पनि निर्धारण हुनेछ । 

नेपालले पहिलो ओडीआई खेल सन् २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा  खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित हासिल गरेको थियो । 

नेपालले ४९ ओडीआई खेलमा २६ मा जित, २१ मा हार, एकमा बराबरी र एक खेलमा नतिजाविहीन छ ।

४९ मध्ये नेपालले आईसीसी विश्वकप लिग २ मा ३६ खेल खेलेको थियो । एक खेल एसिया कप छनोट प्रतियोगितामा युएईविरुद्ध खेलेको थियो । 

बाँकी १२ खेल दुई देशीय श्रृंखलाको रुपमा नेदरल्यान्ड्ससँग २, यूएईसँग ६ र पपुवा न्यूगिनी (पीएनजी) सँग ४ खेल खेलेको थियो ।  

नेपालले ७ देशसँग ओडीआई खेल खेलेको छ । नेपालले यूएई, पीएनजी, स्कटल्यान्ड, नामिबिया, ओमान, अमेरिका र नेदरल्यान्ड्ससँग ओडीआई खेल खेलेको छ । 

नेपालले ओडिआई मान्यता प्राप्त सबैभन्दा धेरै खेल यूएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले यूएईसँग १३ खेल खेलेकोमा ७ मा जित र ६ खेलमा पराजित भएको थियो । पीएनजीसँग नेपालले १० खेल खेलेकोमा ८ मा जित र २ मा हार व्यहोरेको थियो ।

नामिबियासँग ६ खेलमा २ मा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजाविहीन बनेको थियो । अमेरिकासँग ६ खेलमा खेलेकामा ३ मा जित, २ मा हार र एक खेल बराबरी भएको थियो  ।

स्कटल्यान्डसँग ६ खेलमा खेलेकोमा ३ मा जित र ३ मा हार रहेको थियो । ओमानसँग ६ खेल खेलेकोमा २ मा जित र ४ मा हार व्यहारेको थियो । नेदरल्यान्ड्ससँग दुई खेल खेल्दा समान एकमा जित र एकमा हार व्यहोरेको थियो । 

यस बीचमा नेपालले पपुवा न्यूगिनी र यूएईसँग समान २–२ श्रृंखला खेलेको छ । नेपालले २०१९ मा यूएईलाई उसकै भूमिका तीन खेलको श्रृंखलामा २–१ ले हराएको थियो ।

सन् २०२२ मा घरेलु मैदानमा नेपालले यूएईलाई २–१ ले हराएको थियो । सन् २०१८ मा नेपालले युएईसँग एसिया कप छनोटमा खेलेको एक खेलमा नेपालले हार व्यहोरेको थियो ।

पीएनजीसँग नेपालले सन् २०२१ मा ओमानमा दुई खेलको श्रृंखला क्लिनस्विप गरेको थियो । सन् २०२२ मा नेपालमा नै भएको दुई खेलको ओडीआई श्रृंखलामा पीएनजीले क्लिन स्विप गरेको थियो । 

नेपालले आफ्नो ४९ औं ओडीआई खेल भने यूएईविरुद्ध खेलेको थियो । आईसीसी विश्वकप लिग २ को पुछारमा परेपछि यूएई र पीएनजीले ओडीआई मान्यता गुमाएका छन् । 

नेपाल अहिले आईसीसी एक दिवसीय वरीयताको १४ औं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ