arrow

नेपालको यादगार ५० औं ओडीआईः ३१० रनको योगफल, कुशलको शतक र सोमपालको अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
50th-odi-nepal.jpg

काठमाडौं । कुशल मल्लको शानदार शतक र सोमपाल कामीको शानदार अर्धशतकको मद्धतले नेपालले एसीसी प्रिमियर कप क्रिकेटको खेलमा ओमानविरुद्ध शानदार प्रदर्शन गरेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ५० औं खेललाई यादगार बनाउने क्रममा कुशलले पहिलो एक दिवसीय शतक तथा सोमपालले अर्धशतक बनाए । 

सो क्रममा नेपालले ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ । नेपालले एक दिवसीयमा पहिलो पटक तीन सय रनको योगफल पूरा गरेको हो । एक दिवसीय खेलमा नेपालले यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यूगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

कुशलले यसअघि चार वटा अर्धशतक बनाए पनि एक दिवसीयमा शतक भने बताउन सकेका थिएनन् ।

कुशलले नेपाली टिम कमजोर अवस्थामा रहेका बेलामा उत्कृष्ट खेल खेल्दै शतक बनाएका हुन् । उनले मात्र ५९ बलमा पहिलो शतक बनाएका हुन् । सो क्रममा उनले ९ छक्का र ९ चौकाको प्रहार गरेका थिए । 

उनी एक दिवसीयमा शतक बनाउने छैटौं नेपाली खेलाडी हुन् । तर उनको नाममा एउटा कीर्तिमान बनेको छ । त्यो हो कम बलमा शतक बनाउने पहिलो नेपाली खेलाडीको ।

उनी ६४ बलमा १०८ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित पौडेलले ९५ बलमा शतक बनाएर छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा राखेका थिए ।

त्यस्तै सोमपालले ४८ बलमा अविजित रहँदै ६३ रन बनाए । उनले नौ चौका प्रहार गरे । उनको यो दोस्रो एक दिवसीय अर्धशतक हो । त्यस्तै करण केसीले १५ बलमा अविजित रहँदै २९ रन बनाए । 

नेपालले कमजोर शुरुआत गर्यो । नेपालले रनको खाता खोल्नुअघि नै शुरुआती दुई विकेट गुमाउन पुग्यो । नेपालका लागि कुशल भुर्तेल ८ बल र आसिफ शेखले १० बल खेलेर रन नबनाइ आउट भए । नेपालले ४.४ ओभर अर्थात् २८ बलमा पहिलो रन बनाएको थियो । 

तर त्यसपछि आएका भीम सार्की र कप्तान रोहित पौडेलले भने आकर्षक खेले । दुवैले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । सो क्रममा रोहित २३ तथा भीम ३३ रन बनाएर आउट भए । आरिफ शेखले २९ रन बनाए । त्यस्तै सन्दीप लामिछाने ८ तथा दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट भए । 

एसीसी प्रिमियर लिगको अर्को खेलमा मूलपानी क्रिकेट मैदानमा हङकङ र यूएई खेलिरहेका छन् । यूएईले पहिले फिल्डिङ गरेको छ ।  

मौसम भने खासै अनुकूल देखिएको छैन । मुलुकका ४०० भन्दा बढी स्थानमा लागेको र वायु प्रदूषणका कारण मौसम अस्तव्यस्त भएको छ । वर्षा पनि हुन सकिरहेको छैन । 

नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ । सन् २०१८ मार्च १५ मा एक दिवसीय मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडीआई खेलेको छ ।

जारी प्रतियोगितामा एउटै समूहमा रहेका नेपाल र ओमान ओडीआई मान्यता देश हुन् । त्यसैले यो खेल ओडीआई मान्यता प्राप्त हुनेछ । यसबाट एक दिवसीय वरीयता पनि निर्धारण हुनेछ । 

नेपालले पहिलो ओडीआई खेल सन् २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा  खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित हासिल गरेको थियो । 

नेपालले ४९ ओडीआई खेलमा २६ मा जित, २१ मा हार, एकमा बराबरी र एक खेलमा नतिजाविहीन छ ।

४९ मध्ये नेपालले आईसीसी विश्वकप लिग २ मा ३६ खेल खेलेको थियो । एक खेल एसिया कप छनोट प्रतियोगितामा युएईविरुद्ध खेलेको थियो । 

बाँकी १२ खेल दुई देशीय श्रृंखलाको रुपमा नेदरल्यान्ड्ससँग २, यूएईसँग ६ र पपुवा न्यूगिनी (पीएनजी) सँग ४ खेल खेलेको थियो ।  

नेपालले ७ देशसँग ओडीआई खेल खेलेको छ । नेपालले यूएई, पीएनजी, स्कटल्यान्ड, नामिबिया, ओमान, अमेरिका र नेदरल्यान्ड्ससँग ओडीआई खेल खेलेको छ । 

नेपालले ओडिआई मान्यता प्राप्त सबैभन्दा धेरै खेल यूएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले यूएईसँग १३ खेल खेलेकोमा ७ मा जित र ६ खेलमा पराजित भएको थियो । पीएनजीसँग नेपालले १० खेल खेलेकोमा ८ मा जित र २ मा हार व्यहोरेको थियो ।

नामिबियासँग ६ खेलमा २ मा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजाविहीन बनेको थियो । अमेरिकासँग ६ खेलमा खेलेकामा ३ मा जित, २ मा हार र एक खेल बराबरी भएको थियो  ।

स्कटल्यान्डसँग ६ खेलमा खेलेकोमा ३ मा जित र ३ मा हार रहेको थियो । ओमानसँग ६ खेल खेलेकोमा २ मा जित र ४ मा हार व्यहारेको थियो । नेदरल्यान्ड्ससँग दुई खेल खेल्दा समान एकमा जित र एकमा हार व्यहोरेको थियो । 

यस बीचमा नेपालले पपुवा न्यूगिनी र यूएईसँग समान २–२ श्रृंखला खेलेको छ । नेपालले २०१९ मा यूएईलाई उसकै भूमिका तीन खेलको श्रृंखलामा २–१ ले हराएको थियो ।

सन् २०२२ मा घरेलु मैदानमा नेपालले यूएईलाई २–१ ले हराएको थियो । सन् २०१८ मा नेपालले युएईसँग एसिया कप छनोटमा खेलेको एक खेलमा नेपालले हार व्यहोरेको थियो ।

पीएनजीसँग नेपालले सन् २०२१ मा ओमानमा दुई खेलको श्रृंखला क्लिनस्विप गरेको थियो । सन् २०२२ मा नेपालमा नै भएको दुई खेलको ओडीआई श्रृंखलामा पीएनजीले क्लिन स्विप गरेको थियो । 

नेपालले आफ्नो ४९ औं ओडीआई खेल भने यूएईविरुद्ध खेलेको थियो । आईसीसी विश्वकप लिग २ को पुछारमा परेपछि यूएई र पीएनजीले ओडीआई मान्यता गुमाएका छन् । 

नेपाल अहिले आईसीसी एक दिवसीय वरीयताको १४ औं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ