arrow

वर्तमान आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सकारात्मक छ: अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
chandra-dhakal-fncci-nuwakot.jpg

नुवाकोट। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताए।

नुवाकोट उद्योग वाणिज्य सङ्घको १८औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, “मैले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारण सभामा अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै गर्दा मेरो केही प्राथमिकताहरू उल्लेख गरेको थिए। त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको छ।”

“यस बारेमा हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैङ्कका गभर्नरज्यूलाई भेटेर यसको समाधानका उपाय बारेमा छलफल गरिसकेका छौँ। आज मात्रै पनि प्रधानमन्त्रीज्यूसँग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ। हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्क वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौँ। अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ। यसको समाधानको उपाय छिट्टै आउने विश्वास हामीलाई छ।”

ढकालले नुवाकोट जिल्ला सङ्घीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रको सम्भावना रहेको बताए।

उनले यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरू पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताए। “तपाईँहरूले यहाँका सम्भावित परियोजनाहरू छनौट गर्नुहोस्। यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ। म व्यक्तिगत रूपमा वा नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको रूपमा यहाँहरूसँग सहकार्य गर्न तयार छु,” उनले भने।

उनले नुवाकोट उद्योग वाणिज्य सङ्घका नव निर्वाचित अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ