arrow

एक्लो दौडमा रवि र स्वर्णिम, उपेन्द्रलाई शिवको चुनौती, रमेश निकै पछि  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
swirnim-ravi-ramesh-kharel.jpg
तस्बिर – फाइल ।

काठमाडौं । यतिबेला तीन क्षेत्रको उपनिर्वाचन अन्तर्गत मतगणना भइरहेको छ । जसमा गत मंसिर ४ को निर्वाचनको परिणामअनुसार हेर्ने हो भने नेपाली कांग्रेसलाई एक सिट नोक्सान हुने पक्का भएको छ । अन्य दलले भने आफूले जितेको सिट सुरक्षित गर्ने लगभग देखिएको छ । 

त्यतिमात्र होइन गत असारमा मात्रै पार्टी गठन गरेर मंसिर ४ को निर्वाचनमा २० सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले एक सिट थप्ने भएको छ । 

निर्वाचनको पछिल्लो मतगणनाअनुसार चितवन २ मा पहिले रास्वपाका सभापति रवि लामिछानेले जितेका थिए । उनी नागरिकता विवादमा फसेर सांसद पद गुमेपछि अहिले उपनिर्वाचन भएको हो । 

फेरि पनि उनी नै विजय हुने लगभग निश्चित जस्तै देखिएको छ । पछिल्लो गणनाअनुसार (राति १०ः५५ बजेसम्म) रविले १२ हजार ५४० मत ल्याउँदा दोस्रो स्थानका एमालेका रामप्रसाद न्यौपानेको ३ हजार ५७० मत मात्रै छ । त्यस्तै तेस्रो स्थानका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ३ हजार ५५५ मत रहेको छ । 

मंसिर ४ को निर्वाचनमा रविले निकटतम प्रतिस्पर्धी भन्दा तेब्बर बढी मत ल्याएका थिए । 

स्वर्णिम पनि एक्लै दौडमा 
त्यस्तै तनहुँ १ को मतगणना जारी रहेको छ । ६३ हजार ७५७ मत खसेकामा मतगणना तीव्र गतिमा भइरहेको छ । 

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले एक्लै अगाडि दौडिरहेका छन् । स्वर्णिमले २६ हजार ८२७ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १५ हजार ४५४ मत मात्रै पाएका छन् । 

तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार २०८ मतमात्र पाएका छन् । 

यो क्षेत्रमा मंसिरको चुनावमा कांग्रेसका रामचन्द्र पौडेलले जितेका थिए । उनी राष्ट्रपति त भए तर उनको क्षेत्र भने कांग्रेसले गुमाउने पक्का भएको छ । 

उपेन्द्र अघि लागे 
बारा २ मा मतगणना जारी रहँदा जसपा अध्यक्ष उपेन्द्र यादव अगाडि लागेका छन् । उनले ३ हजार ७८१ मत पाउँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २ हजार ९८१ मतमात्रै पाएका छन् । 

एमालेका पुरुषोत्तम पौडेलले १ हजार ६४० मत मात्रै पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने निकै पछि छन् । उनले ६४१ मतमात्र पाएका छन् । तनहुँ र चितवनमा रास्वपाले जित्ने लगभग तय हुँदा रमेशलाई भने बाराका मतदाताले पत्याएनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ