arrow

नेपालले समूह विजेता हुन कतारलाई जित्नै पर्ने, ओमान सेमिफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
acc-oman-saudi.jpg

काठमाडौं । ओमान राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई पराजित गर्दै ओमान सेमिफाइनलमा प्रवेश गरेको हो । 

कीर्तिपुर मैदानमा भएको खेलमा समूह ए को ओमानले साउदीलाई ७२ रनले हराएको हो । ओमानले दिएको ३६७ रनको कठिन लक्ष्य पछ्याएको साउदीले ४६ दशमलब ५ ओभरमा अलआउट हुँदै २९४ रन बनायो । 

साउदीका लागि ओपनर अब्दुल वाहिद र साद खानले अर्धशतक बनाए । वाहिदले ८६ बलमा १४ चौका र १ छक्काको सहयोगमा ९५ रन बनाए ।

खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए । 

ओमानको इनिङ्स
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३६६ रन बनायो । शुरुआती पाँच ब्याटरले अर्धशतक बनाए । मोहम्मद नदिम, जिशान मक्शुद, कश्यप प्रजापती, सोयब खान र जतिन्दर सिंहले अर्धशतकीय इनिङस् खेलेका हुन् । 

सिंहले ७९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाए । खानले ७० बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । 

प्रजापतीले ५३ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । मक्शुदले ४९ बलमा ५४ रन बनाए । पहिलो विकेटका लागि सिंह र प्रजापतीले १ सय २५ रनको साझेदारी गरेका थिए ।

नदिमले ३८ बलमा ६ चौका र ४ छक्काको साथमा अविजित ७१ रन बनाए । साउदीका लागि अतिफ उर रेहमानले ३ तथा अब्दुल वाहिदले २ विकेट लिए । 

यस समूहबाट नेपालले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । 

बिहीबार नेपाल र कतारबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । सबै खेल खेलेको ओमानको ६ अंक छ । नेपालको ५ अंक छ । कतारलाई जित्दामात्रै नेपाल समूह विजेता हुनेछ । 

समूह बी
समूह बीबाट अहिलेसम्म यूएईले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यूएईको ६ अंक रहेको छ । बिहीबार कुवेत र हङकङबीचको विजेता सेमिफाइनलमा पुग्नेछ । हङकङको ५ तथा कुवेतको ४ अंक छ । 

बिहीबार नै सेमिफाइनल समीकरण पूरा हुनेछ । 

फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउने छ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

फाइनल खेल बैशाख १८ गते हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ