arrow

गण्डकीमा नयाँ सरकारको दाबी पेश हुँदै, २७ सिटे कांग्रेसलाई आठ सिटे माओवादीको चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
gandaki-province-pradesh.jpg
तस्बिर – फाइल ।

गण्डकी । गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिँदैछ । 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले तोकिएको समयावधि भित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरिने बताए । कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश सभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने उनले उल्लेख गरे ।

“कांग्रेसले मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भइसकेको छ, मन्त्रालय बाँडफाँटलगायत विषयमा गठबन्धन दलबीच थप समझदारी बनाएर अघि बढ्छौँ”, प्रदेशसभा सदस्य थापाले भने । कांग्रेसको मुख्यमन्त्री बन्नेमा कुनै द्वविधा नरहेको उनको भनाइ छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले भने मुख्यमन्त्री दाबी गर्ने विषयमा केन्द्रको निर्देशन पर्खिरहेको बताउए । “हाम्रो पनि मुख्यमन्त्रीमा दाबी छ, केन्द्रबाट के निर्देशन आउँछ, सोहीअनुसार हुन्छ”, उनले भने, “अहिले नै सबै विषयवस्तु टुङ्गीसकेको छैन ।”

माओवादी केन्द्रले पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । अहिले मुख्यमन्त्री नपाउने स्थितिमा आलोपालोका लागि समय नै तोकेर लिखित सहमति गर्नुपर्ने उसको माग छ । मुख्यमन्त्री कांग्रेसलाई छाड्दा सातमध्ये तीन मन्त्रालयमा माओवादी केन्द्रको दाबी छ । 

राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो । विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो । 

सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो । अहिलेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ । 

साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एक सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ