arrow

प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा, नेपालको भिडन्त कुवेतसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
acc-nepal-team-2023.jpeg

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार समूह चरणका अन्तिम खेलहरु भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । 

समूह ए बाट नेपाल समूह विजेता बन्दै तथा ओमान समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

त्यस्तै समूह बीबाट यूएई समूह विजेता तथा कुवेत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

शनिबार हुने सेमिफाइनलमा नेपालले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा कुवेतको तथा मूलपानी मैदानमा दोस्रो सेमिफाइनलमा यूएईले ओमानसँग खेल्नेछ । 

समूह चरणको अन्तिम खेलमा नेपालले कतारमाथि ६८ रनको जित हासिल गर्दै ७ अंकसहित शीर्ष स्थान ओगट्न सफल भएको हो । 


नेपाल–कतार इनिङ्स
नेपालले कतारलाई कीर्तिपुर मैदानमा ६८ रनले हरायो । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै लज्जास्पद प्रदर्शन गर्यो । नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो । 

१११ रन जोड्दा ९ विकेट गुमाइसकेको नेपालका लागि स्पिन बलर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् । 

सन्दीपको यो एक दिवसीय क्रिकेटको सबैभन्दा ठूलो योगफल हो । दशौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी भएको थियो । सन्दीप र ललितनारायण राजवंशीबीच ४६ रनको साझेदारी भएको थियो । ललितले १७ बलको सामना गर्दै मात्र १ रन बनाएका थिए । 

कप्तान रोहित पौडेलले २७ तथा आसिफ शेखले १९ रन बनाए । अमिर फारुकले ४ तथा ओवाइस अहमदले ३ विकेट लिए । 

नेपालले यही खेलमा कीर्तिमान बनाउन सक्ने थियो । समूहको कमजोर टिमविरुद्ध उच्च योगफल बनाउन सक्थ्यो । तर नेपालले त जारी प्रतियोगितामै सबैभन्दा कमजोर ब्याटिङ गर्यो । 

नेपालले कमजोर ब्याटिङ गरेको भए पनि बलिङ भने सशक्त गर्यो । सोही कारण कतारले २५.१ ओभरमा सबै विकेट गुमाएर मात्र ८९ रन बनाउन सक्यो । जहीर अब्राहिम र खुराम शहजादले समान १५–१५ रन बनाएको इनिङ्समा नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका सन्दीपले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । 

त्यस्तै सोमपाल कामीले ३ तथा ललितनारायण राजवंशीले २ विकेट लिए । 

कुवेत–हङकङ इनिङ्स
कुवेतले ३० रनको जित हासिल गर्यो । मूलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेटको क्षतिमा २७२ रन बनायो । 

जवाफमा हङकङले सबै विकेट गुमाएर ५० ओभरमा सबै विकेट गुमाएर २४२ रनमात्र बनाउन सक्यो । 

जसका कारण यूएई र कुवेतको ६–६ अंक भए पनि रन रेटका आधारमा यूएई समूह विजेता भयो भने कुवेत उपविजेता भयो । ५ अंकको हङकङ बाहिरियो । 

समूह ए बाट मलेसिया, साउदी अरेबिया र कतार बाहिरिए । समूह बीबाट हङकङ, बहराइन र सिंगापुर बाहिरिएका छन् । 

आगामी सोमबार फाइनल हुनेछ । उपाधि विजेता टोली एसिया कपमा खेल्न पाउनेछ । एसिया कपमा यो विजेता टोली भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ