arrow

धकेलिँदै प्रचण्डको भारत भ्रमण, अब जेठ १५ पारि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यो कार्यकालमा विदेश भ्रमणको शुभयात्रा अहिलेसम्म जुरेको छैन । पहिले छिमेकी भारतमै गएर यात्रालाई शुभ गराउने लक्ष्य राखेका प्रचण्डले अहिलेसम्म भारत जान पाएका छैनन् । 

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड चार महिनासम्म भारतमा जान नपाउँदा भने चिन्तित देखिएका छन् । भारतले सहजै यात्राको प्रबन्ध नगरेपछि उनी चिन्तित भएका हुन् । उनले भारतलाई नै पहिलो प्राथमिकतामा राख्दा चीनसमेत रिसाइसकेको छ । 

चीनले निम्तो दिँदासमेत प्रचण्ड चीन नगई भारतको निम्तो कुरेर बसेका छन् । अन्य देशबाट आएको बोलावटमासमेत उनी नगइ अन्य मन्त्रीलाई पठाएर टारेका थिए । अर्थात् उनको मूल लक्ष्य भनेकै भारत हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यव्यस्तताका कारण समय नै नदिएपछि प्रचण्डको भारत भ्रमण पछाडि धकेलिँदै गएको छ । अब उनको भ्रमण बजेटपछि अर्थात् जेठको मध्यपछिमात्र हुने भएको छ । 

उनको भ्रमणको चाँजोपाँजो मिलाइरहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ । तर कहिले जान्छन् भन्ने अहिलेसम्म ठ्याक्कै टुंगो भने लागेको छैन । उनी भारत जाने चर्चा बैशाख तेस्रो साताका लागि रहेको थियो । तर त्यो एकाएक सरेर बैशाख अन्तिम पुग्यो । अहिले आएर बजेट पछि भनिँदैछ । 

कहिले भारतमा चुनाव र कहिले नेपालमा बजेटको चटारोले गर्दा प्रचण्डको भारत भ्रमण जेठ १५ अघि सम्भव नभएको परराष्ट्र स्रोत बताउँछ । आगामी बैशाख २७ गते भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचन हुँदैछ । जसका कारण भारतले दुई साता पछि धकेल्न खोजेपछि अब बजेटपछि नै जाने गरी सन्देश पठाइसकिएको छ । 

प्रचण्डको चाहना भने बैशाख तेस्रो साता नै रहेको थियो । त्यसैले पनि उनले मन्त्रिपरिषद्ले पूर्णता नपाए पनि परराष्ट्र मन्त्री भने नियुक्त गरेका थिए । कांग्रेसभित्र सत्तामा जानका लागि अझै खिचातानी भइरहँदा एनपी साउदलाई उनले परराष्ट्र मन्त्री नियुक्त गरेका थिए । 

साउदको पहिलो काम पनि प्रधानमन्त्रीको भारत भ्रमणको प्रबन्ध गर्नु थियो । तर अहिले आएर फेरि पछाडि धकेलिएको छ । 

प्रचण्डको भारत भ्रमणका लागि पूर्व परराष्ट्र मन्त्री बिमला राई पौड्यालले पनि पहल गरेकी थिइन् । उनी त भारत नै गएकी थिइन् । तर केही पार लागेन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बन्नुअघि नै हरिबोल गजुरेलले पनि प्रयास गरेका थिए । 

तर खास दिनको अर्थ खास हुने भएझैं प्रचण्डको भारत भ्रमणको साइत भने ढिला गरी नै आउने भएको छ । 

पछिल्लो समय परराष्ट्र मन्त्रालयले दुई मुलुकबीच भ्रमणका क्रममा हुन सक्ने साझेदारी र छलफलका एजेन्डाहरु तयार गरिरहेको छ । 

रोलक्रम तोड्न माहिर प्रचण्ड यसअघिका दुई कार्यकालका क्रममा पहिलो पटक चीन र दोस्रो पटक भारत गएका थिए । जब पहिलो पटक उनी २०६५ सालमा बेइजिङ ओलम्पिकको समापनका क्रममा चीन गएका थिए तब चर्को आलोचना खेपेका थिए । 

तर दोस्रो कार्यकाल भने २०७३ सालमा उनी पहिले भारत नै गएका थिए । यसपालिको कार्यकाललाई व्यक्तिगत रुपमा स्वर्णिम बनाउन चाहिरहेका प्रचण्डले भारतकै प्रतिक्षा गरिरहेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ