arrow

सीमा क्षेत्रमा सशस्त्रको २१ बीओपी थप

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
apf-broder-sima.jpg

काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको निगरानीलाई थप मजबुद बनाउँदै लगेको छ । पछिल्लो समयमा झापा, बारा, दाङ, बर्दिया, दार्चुलालगायतका जिल्लामा २१ वटा बिओपी (बोर्डर आउट पोष्ट) स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी गराएको छ । 

सोमबारसम्ममा ती पोष्ट स्थापना गरी सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिसकिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । यसरी थपिएको सीमा सुरक्षा चौकीमा हाल भएकै सशस्त्र प्रहरी कर्मचारीलाई परिचालन गरिएको पनि उनले बताए । 

योसँगै अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई सय ४९ वटा बिओपी पुगेको छ । यसअघि दुई सय २८ वटा बिओपी स्थापना भएको थियो । सरकारले पाँच सयवटा बिओपी पुर्‍याउने लक्ष्य राखेको छ । क्रमशः अन्य जिल्लामा पनि थप गर्दै जाने योजना रहेको जनाइएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षा विभागसमेत स्थापना गरी व्यवस्थित कार्य आरम्भ गरिएको सशस्त्र प्रहरीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

यस्तै, अस्पताल, सीमा विभाग र अनुगमन तथा गुनासो व्यवस्थापन एकाइमा हटलाइन सेवाहरू थप गरी कार्यान्वयनमा ल्याइएको छ । सशस्त्र प्रहरी बल नेपालले भए गरेका कार्यप्रगतिबारे जानकारी दिँदै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले प्रधान कार्यालयमा अनुगमन तथा गुनासो व्यवस्थापन एकाइ स्थापना गरिएको र विभिन्न माध्यमबाट प्राप्त पाँच सय २० गुनासोमध्ये पाँच सय १८ फर्छ्योट भइसकेको र दुईवटा छानबिनका क्रममा रहेको जानकारी दिए । 

सशस्त्र प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतामा विशेष जोड दिइएको  र सोही क्रममा विभिन्न ६५ युनिटमा जवान मेसहरूको स्तरोन्नति गरिएको उनले बताए । एक जवान एक बेडिङ अवधारणा लागू गर्ने अवधारणाअनुसार करिब ८५ प्रतिशत कर्मचारीका लागि बेडिङ तयार भइसकेको र ७० युनिटमा शिशु स्याहार केन्द्र स्थापना गरिएको पनि जानकारी गराइएको छ । 

आव ०७९-०८० को वैशाख १६ गतेसम्ममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटले अवैधरूपमा चोरी–निकासी तथा पैठारी गरिरहेको अवस्थामा रु ९६ करोड ९५ लाख सात हजार सात सय ९३ बराबरको माल, वस्तु नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा बुझाएको छ । यसअघि आव ०७८-०७९ को यो समयमा रु ७९ करोड ८५ लाख ९९ हजार ६३ मात्रै बुझाइएको थियो । चालु आवको अहिलेसम्म १९ वटा विभिन्न प्रकारका पेस्तोल, १६ वटा भरुवा तथा एअर बन्दुकलगायत थुप्रै विस्फोटक पदार्थ बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ । 

यस्तै, चार हजार दुई सय ८३ केजी गाँजा, ३५ केजी चरेस तथा ४० हजार चार सय ९५ ट्याबलेट लगायतका विभिन्न किसिमका लागूपदार्थ बरामद गरी सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ