arrow

दार्चुला हिमपहिरोमा को-को परे ? (नामसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
apf-him-pahiro.JPG

काठमाडौं ।  दार्चुलामा  गएको हिमपहिरोमा पाँच जना बेपत्ता भएका छन् ।  दार्चुलाको व्यास गाउँपालिका-१ बोलिङ्गमा मंगलबार दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार दिउँसो ३ बजेतिर खसेको हिमपहिरोमा परी डोटी जिल्ला जोरायल गाउँपालिका बुडर-२ का तीन महिला तथा दुहु गाउँपालिका पोक्से-४ का एक पुरुष र दुई महिला बेपत्ता भएका हुन् ।
 
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले त्यहाँ बसेका १२ जना यार्सा सङ्कलकमध्ये सात जना सकुशल रहेको जानकारी दिए । दार्चुलामा मंगलबार दिउँसो पौने ३ बजे आएको हिमपहिरोमा फसेका ७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

दार्चुलाको व्यासमा बेपत्ता हुनेमा डोटीको जोरायल-२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र दार्चुला दुहु-४ का कमला कुँवर र प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ । 

जोरायल-२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल बिष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा-५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु-४ का कलावती कार्की र अर्जुन कार्कीको सकुशल उद्धार गरिएको हो। 

डिएसपी भट्ट सशस्त्र प्रहरीको २५ जनाको टोलीसहित मंगलबार साँझ घट्नास्थलमा पुगेका थिए । हिमपहिरो गएका बेला केही यार्सागुम्बा सङ्कलक दाउरा खोज्न त्रिपालबाट बाहिर निस्केका कारण ठूलो मानवीय क्षति हुन नपाएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ