arrow

 दार्चुला हिमपहिरो 

उद्धारका लागि लेकतर्फ उक्लिन सकेन सशस्त्रको टोली

लगातारको हिमपातले बेपत्ताको उद्धारमा कठिनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
apf-toli-darchula.JPG

दार्चुला ।  दार्चुलाको व्यास गाउँपालिका-१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएकाको हिमपातले उद्धारमा कठिनाइ भएको छ । हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । 

गए रातिदेखिको लगातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बताए । “रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ”, उनले भने-“हिमपात रोकिएपछि घटनास्थलमा जाने तयारीमा छौँ ।” 

मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मङ्गलबार साँझ घटनास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाइ भएपछि सो टोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो । 

“घटनास्थल वरपर बाक्लो हिमपात भएकाले बस्नै सकिएन, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था थिएन”, डिएसपी भट्टले भने ।  हिमपहिरोबाट जोगिएका २० जना यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको बताए ।

बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कल मध्ये चार महिला र एक पुरुष रहेका छन् ।  भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका छन् । दुवै जना आमा छोरा हुन् । यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् । 

वर्षा र हिमपातका कारण यार्सागुम्बा सङ्कलन प्रभावित बनेको छ । सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ