arrow

अर्थमन्त्रीले गरे ‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
Padmasambhava-china-tibbet-boudhha.jpg

नुवाकोट ।  नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ । स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गरे । सो अवसरमा उनले बुद्धपछिको बुद्ध भगवान्का रूपमा सम्मानित भगवान् पद्मसंभवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

“दण्ड-जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ”, उनले भने, “हजारौँ वर्षदेखि मानिस एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौँ । त्यो हाम्रो महान् धर्म, संस्कृति र त्यसले सिकाएको पाठको नतिजा हो ।”

एक हजार दुई सय वर्षअघि बुद्धधर्मको प्रचारका लागि विशेष गरेर तिव्बत र नेपाली भूमिमा समेत योगदान पुर्‍याएका ‘गुरु पद्मसंभव’लाई बौद्ध धर्मावलम्बीले सिद्धार्थ गौतम बुद्धपछिको ‘दोस्रो ठूलो भगवान्’को अवतारका रूपमा पुज्ने गरेका छन् ।
 
बेतिनीस्थित नाम्सापुरानमा करिब १० रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसंभव’को मूर्ति निर्माणका लागि रु ७० लाख २० हजार लगानी भएकाले अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले बताए । उनका अनुसार दुप्चेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारमार्फत करिब रु ३८ लाख प्राप्त भएको र बाँकी रु ३२ लाखभन्दा बढी रकम स्थानीयवासीले चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको हो ।  

बुद्ध जयन्ती पर्वका अवसर बनाई विशेष पूजाआरधनासहित निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापनमा बौद्धगुरु प्रमुख लामा डोल्पु गुम्चेन रिन्पोछेसहित नौ जना लामा गुरुबाट बुम्पा, छोक छ्याङ, बुन्छु, रिल्बु, दादर गर्दै वाङ (प्रसाद र दीर्घायुको कामना) वितरण गरिएको थियो । तीन दिनसम्म सञ्चालित पूजाको समापन आज हँुदै छ । उक्त समारोहमा शनिबारसम्म पाँच हजार बौद्धमार्गीको सहभागिता रहेको गुम्बाका प्रमुख लामा पासाङ लामाले जानकारी दिए ।

जिल्लाको विकट र तामाङ-शेर्पा समुदायको बसोबास रहेको उक्त स्थानसम्म पुग्न सडक यातायातको पहुँच कमजोर भएकाले पद्मसंभवको मूर्ति प्राण प्रतिस्थापन गर्न शनिबार अर्थमन्त्री डा प्रकाशरण महत हेलिकोप्टरमार्फत कार्यक्रम स्थलमा पुगेका थिए ।

उक्त अवसरमा उनले सम्बोधन गर्दै सो स्थानसम्म पुग्ने निर्माणाधीन त्रिशूलीस्थित गङ्गटेबाट समुन्द्रटार हँुदै गोल्फुभञ्याङसम्म जोड्ने सडक कालोपत्र गर्न आवश्यक बजेट समावेश गर्न लागेको र काठमाडौँबाट शिवपुरी (खोलेगाँउ, महाकाली) हुँदै सिधैँ दुप्चेश्वरसम्म पुग्ने सडकको ट्रयाक निर्माण गरिने प्रतिबद्धता जनाएसँगै स्थानीयवासी उत्साहित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ