arrow

केरलामा डुंगा पल्टिँदा कम्तीमा २१ को मृत्यु, उद्दार जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
kerela-boat-accident.jpg

नयाँदिल्ली । आइतबार साँझ भारतको केरलाको मलापुरम जिल्लाको तनुर क्षेत्रको तुवालाथिराम समुद्र तटमा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । 

सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । यस घटनाको बारेमा मोदीले ट्वीट गर्दै भनेका छन्, ‘केरलाको मलापुरममा भएको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाएकोमा म दुःखी छु । शोक सन्तप्त परिवारजनमा समवेदना। प्रत्येक मृतकका आफन्तलाई दुई लाख रूपैयाँ प्रदान गरिनेछ।’

केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी पाएपछि उनले यस दुर्घटनामा ज्यान गुमाउनेमा विशेषगरी बालबालिका रहेको बताए । 

प्राप्त जानकारी अनुसार विद्यालय बिदामा बसेका बालबालिकाहरु हाउसबोटमा सवार भइरहेको बेला उक्त घटना भएको हो । अझै पनि धेरै बालबालिका हराएको खबर आएको छ, जसको खोजीका लागि विशेष अभियान चलिरहेको छ ।

घटनास्थलमा पुगेको प्रहरी भने यस विषयमा सम्पूर्ण अनुसन्धानमा जुटेको छ । घटना कसरी भयो भन्ने बारेमा वरपरका मानिसहरूलाई पनि सोधपुछ भइरहेको छ। 

घटनाको बारेमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘दुर्घटना साँझ करिब ७ बजे भएको थियो । अहिलेसम्म पानीबाट निकालिएकाहरूलाई नजिकैको निजी र सरकारी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ केहीको उपचार भइरहेको छ । 

उनले भने, ‘दुर्घटनाको यकिन कारण अहिले नै थाहा हुन हुन सकेको छैन । अहिले हामी सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेका छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ