arrow

भीम रावललाई जिम्मेवारी दिनेबारे एमाले नेतृत्व मौन, कार्यदल नै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
bhim-rawal-uml-2078-kartik.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले तत्कालीन उपाध्यक्ष भीम रावललाई पार्टीको जिम्मेवारी दिने तयारी गरेको भए पनि अहिलेसम्म त्यसको कुनै प्रकृया अघि बढेको छैन । गत चैतमा एक पटक रावलसँग कुराकानी भए पनि त्यसपछि कुनै पनि प्रकारको सम्पर्क भएको छैन । 

केन्द्रीय कमिटीको बैठक नजिक आउँदै गर्दा रावललाई जिम्मेवारी दिन बनेको कार्यदल नै बेपत्ता भएको छ । केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैशाख २८ गते बिहीबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । 

बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत, केन्द्रीय कमिटीको चौथौ बैठकपछिको निर्णय अनुमोदन, आयोगका प्रमुखहरुको सम्बोधन, मिसन ग्रासरुटको समीक्षापछि छलफलमा जाने उनले जानकारी दिए ।

केन्द्रीय बैठकमा मिसन ग्रासरुट अभियानपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने केन्द्रीय उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको भनाइ छ । उनले पार्टीमा प्रवेश गरेका नेताहरुलाई व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने बताए । 

तर भीम रावलको विषयमा भने कार्यदलको काम सकिएपछि मात्रै निर्णय हुने बताएका छन् । ‘कार्यदलको काम सकिएपछि निर्णय हुनेछ, अहिले कार्यदलले काम गर्दैछ’, प्रचार विभाग प्रमुख गुरुङले भने । 

भीम रावलसँग वार्ता गर्न एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापा सहितको टोली गठन भएको छ । सो टोलीले एक पटक वार्ता गरिसकेको छ । 

एमालेले पूर्वउपाध्यक्ष तथा गत महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका नेता भीम रावलसँग छलफल गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । 

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार सचिवालयको चैत १८ गते बसेको बैठकले रावलसँग छलफल गरेर आवश्यक टुंगोमा पुग्नका लागि वार्ता टोली गठन गरिएको हो । 

पूर्वउपाध्यक्ष, दशौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीमै रहेका तर पार्टीको विधि, विधानअनुसार नचलिकन बसिरहेका भीम रावलसँग कुरा गर्न र टुंगोमा पुग्नका लागि ग्रास रुट अभियानको सुदूरपश्चिम अनुगमन गर्ने उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा नेतृत्वको समिति गठन भएको थियो । 

रावल पछिल्लो समय एमालेसँग असन्तुष्ट छन् । पार्टीले जिम्मेवारी नदिएको भन्दै उनी असन्तुष्ट रहेका हुन् । २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा उनलाई टिकट दिइएको थिएन भने पार्टीमा कुनै जिम्मेवारी पनि दिइएको थिएन । 

चितवनको सौराहामा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ