arrow

बुढीगण्डकी आयोजनालाई निर्माणको चरणमा लैजान माग

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
Budhi.jpg.jpeg
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल निर्माणको चरणमा लैजान सरोकारवालाले आग्रह गरेका छन् । फ्रान्सेली कम्पनी ट्रयाक्टबेलले विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको र सो प्रतिवेदन छलफलका क्रममा रहेकाले तत्काल निर्णय गरेर निर्माण सुरु गर्न उनीहरुले जोड दिएका हुन् । बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिले आयोजना गरेको छलफलमा सहभागीहरुले सो आयोजना नेपालको महत्वपूर्ण आयोजना भएकाले तत्काल सुरु गर्न आग्रह गरे। कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले चालु आवमा रु तीन अर्ब २५ करोड बजेट विनियोजन गरेको छ। सो आयोजनाका कारण धादिङ र गोरखाका करिब पाँच हजार परिवारका ४५ हजार नागरिकलाई विस्थापित हुँदैछन् ।

उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले स्थानीय जनताको माग र भावनालाई सम्बोधन गर्ने गरी आयोजना अगाडि बढाइने बताए । उनले सो आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै तत्कालै उपयुक्त र वैज्ञानिक निर्णय गर्ने उल्लेख गर्दै सबै पक्षको भावनालाई सम्मान गरिने उल्लेख गरे । 

व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले स्वदेशी लगानीमा नै सो आयोजना अगाडि बढाउन सकिने धारणा राखे । उनले सो आयोजनाको लगानीको मोडलका विषयमा समितिमा समेत छलफल भइसकेको उल्लेख गर्दै आगामी दिनमा समेत थप सहजीकरण गर्न तयार रहेको बताए ।

नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले स्थानीयवासीको माग र चाहनालाई सम्बोधन गर्दै तत्काल आयोजना निर्माण सुरु गर्नुपर्ने धारणा राखे । उनले सो आयोजनालाई सम्पन्न गराउन स्थानीयवासी जस्तोसुकै निर्णय गर्न तयार रहेको भन्दै सरकारले तत्काल उचित निर्णय गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का सांसद गुरुप्रसाद बुर्लाकोटीले आयोजना मुलुकको भएकाले स्थानीयवासीबाट अवरोध हुन्छ कि भन्ने आशङ्का नराख्न आग्रह गरेका थिए । उनले आयोजनामा स्थानीयवासीको शेयर, श्रम, लगानी गर्न पाउने प्रावधान समेट्नुपर्नेमा जोड दिए।

एमाओवादीका सांसद छमबहादुर गुरुङले आयोजनालाई सफल बनाउन जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताए। आयोजनाका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले आयोजनाले चालु आवभित्रै स्थानीयवासीलाई मुआब्जा वितरण गर्न सुरु गर्ने र आयोजना निर्माणको चरणमा प्रवेश गर्ने जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्षता दिनेशकुमार ढकालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ