arrow

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा देवकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
Krishna chandra devkota.jpg

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त उपाध्यक्ष डा देवकोटालाई सपथ गराएका हुन् ।

सपथ लिएलगत्तै डा देवकोटाले आयोगको उपाध्यक्षको पदभार सम्हालेका छन् । सो अवसरमा उनले संविधानले दिएको सीमाभित्र रहेर प्रदेशलाई बलियो र समृद्धशाली बनाउन भूमिका खेल्ने बताए ।

कृषि, पर्यटन पूर्वाधार, जलस्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकीकरणका आधारमा काम गर्नुपर्ने उनले उल्लेख गरे । प्रदेश सरकारको नीति तथा योजना कार्यान्वयनमा सबै पक्षसँग मिलेर काम गर्ने उनले बताए ।

को हुन् डा देवकोटा ?

विसं २०३९ मा गोरखामा जन्मिएका उनले गोरखाकै अमरज्योति जनता माध्यमिक विद्यालयबाट विसं २०५५ मा एसएलसी उत्तीर्ण गरेका थिए । उनले विसं २०५७ मा काठमाडौँको सिद्धार्थ वनस्थलीबाट आइएस्सी र विसं २०६० मा त्रिचन्द्र कलेजबाट बिएस्सी उत्तीर्ण गरेका थिए ।

विसं २०६७ मा दक्षिण कोरियाबाट स्नानकोत्तर उपाधि हासिल गरेका डा देवकोटाले कोरियामै रहेर राष्ट्रिय विपद् जोखिम प्राधिकरणमा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा दुई वर्ष काम गरेका थिए ।

थाइल्याण्डको बैंककमा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरमा प्राविधिक विपद् विज्ञका रूपमा तीन वर्ष काम गरेका थिए ।

त्यहाँ रहँदा उनले विश्व बैंकको लगानीमा लाओस, कम्बोडिया, भियतनाम, भारतलगायत दक्षिणपूर्वी एसियाली देशमा विपद्मैत्री पूर्वाधार विकासमा काम गरेका थिए । 

विसं २०७२ को भूकम्पपछि नेपाल फर्किएका डा देवकोटाले स्वीस एजेन्सीमा रहेर नेपाललगायत अफगानिस्तान, भुटान र काजकिस्तानको विकास योजना तथा विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा तीन वर्ष काम गरेका थिए । 

पछिल्लो समय उनी विपद् र विकाससँगै अनुसन्धानको क्षेत्रका क्रियाशील रहँदै आएका थिए । डा देवकोटालाई प्रदेश सरकारले गत आइतबार प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ