- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका निलम्बित एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् ।
नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारमा दोषी ठहर हुने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए । सो प्रकरणमा मुछिएपछि पार्टीबाट निलम्बनमा परेका रायमाझी बैठकमा उपस्थित छैनन् ।
बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले रायमाझी एमालेसँग सम्पर्कमा नभएको बताएका थिए ।
तर गत साता बुधबारदेखि मोबाइल स्वीच अफ गरेका रायमाझीले अन्तिम फोन कल भने एमाले अध्यक्ष ओलीलाई नै गरेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
केपी ओली यसअघि पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टोपबहादुरलाई किन पक्रने भन्दै आएका थिए ।
प्रहरी स्रोतका अनुसार यो प्रकरणमा ओली पनि कहीँ कतै जोडिएको हु्न सक्ने शंकासमेत गरिएको छ ।
रायमाझीले हिजोमात्रै संसद सचिवालयमा आफू बिरामी भएको लिखित पत्र पठाएका थिए ।
उनी बिरामी छन् भने कहाँ उपचार भइरहेको छ र उनलाई भएको के ? भन्ने केही पनि पत्रमा उल्लेख नभएको बताइएको छ ।
उनले गत साताको बुधबार प्रहरीलाई भने आफू आफैँ हाजिर हुने भनेर बेपत्ता भएका थिए । प्रहरीलाई नै ढाँटेका उनले आज बिहानसम्म आत्मसमर्पण गर्ने तयारी रहेकोसमेत बताइएको थियो ।
यो प्रकरणमा ११ जना पक्राउ परिसकेका छन् । गम्भीर प्रकरणमा फसेका रायमाझी फरार भएपछि उनले आफ्नो इमानसमेत गुमाएका छन् ।