arrow

एमालेभित्रै टोपबहादुर कहाँ छन् भन्दै केपी ओलीलाई प्रश्न 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg

काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई कहाँ छन् ? भन्ने प्रश्न उठेको छ । 

एमालेको केन्द्रीय कमिटीको बैठकमा पनि सो विषयले प्रवेश पाएको हो । एमालेका अधिकांश केन्द्रीय सदस्यहरुले एमाले सचिव रायमाझीलाई भगाउन प्रेरित गरियो कि आफै भागेका हुन् वा कोही नेताले संरक्षण गरेर भारततर्फ भगाइएको हो भन्ने प्रश्न उठाइएको छ । रायमाझीको खोजी गर्न प्रहरीले अनेकन उपाए गरिरहेका बेला मुलुकको प्रमुख प्रतिपक्षी दलको केन्द्रीय कमिटी बैठकमा पनि गरमागर्मी बहस भयो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनले कानूनलाई सहयोग गर्नुको कुनै विकल्प नभएको र उनले व्यक्तिगत रुपमा गरेको गल्तीलाई पार्टीले जिम्मेवारी लिइरहनु नपर्ने बताएर केन्द्रीय कमिटी आश्वस्त पारेका थिए । पार्टीले निलम्बन गरिसकेकाले टोपबहादुरजी जसरी पनि प्रहरी कार्यालयमा हाजिर हुनुपर्ने उनको जिकिर थियो । 

प्रहरीले भने उनको खोजीका लागि विशेष टोली नै परिचालन गरिसकेको छ । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रायमाझी बिरामी भएको पत्र संघीय संसद् सचिवालयमा बुझाउने व्यक्तिको पहिचान गर्न अनुसन्धान अघि बढाएको छ । 

फरार रायमाझीले आफू बिरामी भएकाले उपचाररत रहेको भन्दै बुधबार संसद् सचिवालयमा पत्र पठाएका थिए । उनका एक सहयोगीले संसद् सचिवालयमा पुगेर पत्र पेस गरेका थिए । तर पत्र पेस गर्ने व्यक्ति को थिए ? भन्ने खुलेको छैन । त्यही नखुलेकाले सीआईबीले ती व्यक्तिको पहिचान गर्न संसद् सचिवालयबाट पत्र बुझाउन आउँदा रेकर्ड भएको सीसीटीभी फुटेज अनुसन्धानका लागि लगेको हो । 

बुटवलबाट फरार भएका उनी भारतको लखनउ र देहरादून भएको शंका प्रहरीले गरेको छ । प्रहरीले त्यहाँको प्रहरीसँग पनि समन्वय गरिरहेका र एउटा टोली त्यता पनि पठाएको छ । तर उनी फेला पर्न सकेका छैनन् । 

एमालेले निलम्बन गर्नुअघि नै प्रहरीमा आत्मसर्मपण गर्न निर्देशन दिएको थियो तर उनले अटेर गरेपछि निलम्बन गरेको हो । ‘उहाँ (रायमाझी) नेपालभित्रै कोही व्यक्तिको  सम्पर्कमा हुनुहुन्छ भन्ने अनुमान छ, उहाँले ईमेल गरेको पत्र बुझाउने मान्छेको खोजी भैरहेको छ’, प्रहरी स्रोतले भन्यो ।  

शरणार्थी प्रकरणमा रायमाझीको संलग्नता खुलेपछि प्रहरीले बैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। पुर्जी जारी हुँदै गर्दा उनी सभामुख देवराज घिमिरेसँग गृहजिल्ला अर्घाखाँचीको एउटा सार्वजनिक कार्यक्रममा थिए । 

रायमाझी अर्घाखाँचीबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । कार्यक्रम सकेर बैशाख २० गते राति नै भैरहवाबाट बुद्ध एयरको हवाइजहाज मार्फत सभामुख घिमिरे र रायमाझी सँगसँगै आउने कार्यक्रम थियो । 

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ पर्नसक्ने डरले अन्तिम अवस्थामा टिकट रद्द गरी उनी भैरहवामै बसेका थिए । शरणार्थी प्रकरणमा रायमाझीको संलग्नता खुलेपछि प्रहरीले बैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । 

रायमाझीले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई फोन गरेर आफैँ प्रहरीकहाँ उपस्थित हुने बताएर प्रहरीलाई चक्मा दिएका थिए । 

आफैँ उपस्थित हुने भनेलगत्तै उनी भैरहवाबाटै सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका रायमाझीलाई प्रहरीले फरार आरोपीको सूचीमा राखेर देशभर खोजी अभियान सञ्चालन गरेको छ । 

एमालेका जनसंगठनहरुले पनि रायमाझी जहाँ भेटिन्छन त्यहाँ प्रहरीलाई बुझाउने अभियान नै चलाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ